पुराना चलचित्र घर विस्थापित हुँदै, सञ्चालक भन्छन्- सरकारले अवस्था बुझेन

विराटनगर- ‘विभिन्न प्रकारका करको मार त खेप्दै आएका थियौँ। तर अब करसँगै इन्टरनेट, मोबाइल, मल्टीप्लेक्सको प्रवेश, कोभिड १९ महामारीले चलचित्र घरको अस्तित्व संकटमा पर्दै गएको छ’, विराटनगरस्थित चलचित्र घरका सञ्चालक राज ताम्राकारले बताए।

विराटनगर-१५ स्थित अरुण सिनेमा घरका सञ्चालक ताम्राकार सरकारबाट सहुलियत नपाइरहेको अवस्थामा भ्याट, स्थानीय कर, चलचित्र विकास शुल्क, विद्युतको चर्को शुल्कले चलचित्र घरहरू संकटमा पर्दै आएको बताउँछन्।

दैनिक तीनवटा शाे चलाउँदै आएको अरुणमा ४ सय ६५ जना दर्शकको क्षमता रहेको छ। तर, सबै क्षमता भरिएर चलचित्र हाउसफुल नभएको लामो समय भइसकेको उनको गुनासो छ।

२०३५/०३६ सालबाट अरुण सञ्चालनमा आएको बताएका ताम्राकार भन्छन्, ‘हामीले यहाँ लगाउने भनेको अधिक हिन्दी चलचित्र हो। नेपाली चलचित्र धेरै लामो समय टिक्दैनन्। अब दर्शकलाई हलसम्म आकर्षण गर्ने चलचित्र भित्राउन समय कुर्नुपर्छ। दैनिक हलमा १० हजार बढी खर्च हुन्छ। तर, त्यसअनुसारको आम्दानी भने हुँदैन। परिवारले चलाउँदै आएको परम्परालाई धानिरहेका छौँ। नाफा होइन, नोक्सानी खेपेर अघि बढिरहेकाछौँ।’

उद्योग क्षेत्रमा विद्युत छुटदेखि कर छुटका कुरा हुने गरेको बताएका ताम्राकारले मनोरञ्जन क्षेत्रको आवाज उठान गरिदिनेको कमी भएको तिक्तता व्यक्त गर्छन्।

उनले मासिक कम्तीमा ३० हजार विद्युत खर्च तिर्दै आएका छन्।  विद्युतबाहेक प्रत्येक १ सय रुपैयाँको टिकटमा ३५ रुपैयाँ कर कट्टी हुने गरेको उनकाे भनाइ छ।

‘धेरै ऋणपान गरी सञ्चालनमा आएका चलचित्र घरलाई आफ्नो अस्तित्व जोगाउन हम्मे‍हम्मे परेको छ। केही त बन्द नै भइसके। हामी जसोतसो चलाउँदैछौँ। आधुनिकतासँगै भित्रिएको सुविधासम्पन्न मल्टीप्लेक्ससँग स्पर्धा गरिरहेका छाैँ।’

यस्तै गुनासो विराटनगर ९ स्थित हिमालय हलको पनि रहेको छ। हिमालय हलका सञ्चालक दीपेन्द्र भण्डारी पनि विद्युतको चर्को महसुलमा सुविधा पाउन सक्दा देखिएका समस्या कम हुन सक्नेमा जोड दिन्छन्।

चलचित्र क्षेत्रलाई माया गरी दर्शकमाझ मनोरञ्जन दिलाउने हललाई कोभिड महामारीपछि सहायताको आवश्यकता रहेको बताउँदै भण्डारीले कोभिड महामारीपछि विद्युत महसुल तिर्न समेत गाह्रो भएको जनाए।

भण्डारी भन्छन्, ‘अहिले पनि विद्युत महसुल ३ लाख माथि रहेको छ। चलचित्र हेर्न भनेजस्तो संख्यामा दर्शकको उपस्थिति रहँदैन। १० जना उपस्थित भए पनि ४० जना भए पनि मनोरञ्जन दिनैपर्छ।’

नेपाली चलचित्र घरलाई १० वर्षे सशस्त्र द्वन्द्वताकाबाटै समस्या उत्पन्न हुँदै आएको चलचित्रकर्मीहरूको भनाइ छ। ५० को दशकअघि बिहान ८ बजे शोदेखि बेलुका ९ बजे शोसम्म ५ शोसम्म चलचित्र चलाउने गरेका चलचित्र घरहरू यतिबेला आफैँ अस्तित्व कसरी जोगाउने सोचमा छन्।

विराटनगरमा विगतमा जलजला सिनेमा घर, हिमालय सिनेमा हल, इन्द्र सिनेमा घर, अरुण सिनेमा घर, बाबा हललगायत रहेका थिए। जसमध्ये विराटनगरकै पूरानो चलचित्र घरका रूपमा परिचित जलजला सिनेमा घरले ६० को दशकबाट आफ्नो अस्तित्व मेटाइसकेको छ।

‍अझै पनि सो सिनेमा घरको सडकको नाम जलजला रोड नै रहेको छ। त्यसैगरी, ५० को सुरुवाती दशकबाट सुरु भएको इन्द्र सिनेमा घर पनि आन्तरिक कारण १५ वर्षको छोटो आयुमै भत्किन पुग्यो। तत्कालीन विराटनगर-१३ को भूमि प्रशासन चौकस्थित निर्माण गरिएको मुलुकको सबैभन्दा बढी सिट क्षमताको चलचित्र घरका रूपमा इन्द्रलाई लिने गरिन्थ्यो।

चलचित्र घरमा लामो समय कार्य अनुभव लिएका कर्मचारी कालु राईका अनुसार इन्द्र चलचित्र घरमा १ हजार १ सयभन्दा बढी सिट क्षमता रहेको थियो। नेपाली चलचित्र देउकीबाट सुरुवात भएको सिनेमा घर आन्तरिक कारण अस्तित्वविहीन हुन पुगेको उनको भनाइ छ।

चलचित्र घरका सञ्चालकहरूले चलचित्रले मात्र हललाई जोगाइराख्न सहज नभएको निष्कर्ष निकाल्छन्। बढ्दो आधुनिकतासँगै मल्टीप्लेक्ससँगको प्रतिस्पर्धाले हलहरू पछाडि पर्दै गएको उनीहरूको भनाइ छ।

हिमालय हलका सञ्चालक भण्डारी‍ले भने, ‘हामीले अन्य हलहरूजस्तो महंगो टिकट बिक्री गर्दैनौँ। सबै जनताले मनोरञ्जन लिन पाउनुपर्छ भन्ने हेतुले १ सय देखि १ सय ५० रुपैयाँ अघिकतम टिकट मूल्य राखेका छौँ। तर, अन्य मन्टीप्लेक्समा सो रकममा टिकट नै खरिद हुन सक्दैन।’

चलचित्र घरमा देखिएको संकटले रोजगारीमा समेत कमी हुदै गएको छ। प्रत्येक सिनेमा घरमा कम्तीमा १५ जनासम्म कर्मचारी कार्यरत हुँदै आए पनि हाल त्यो संख्या औषतः ७ जनामा पुगेको छ। जसमा टिकट काउण्टर, टिकट जाँचबुझ, माइकिङ, पोस्टर पम्प्लेटिङ प्रचारप्रसार, सरसफाइ लगायतमा कर्मचारी कार्यरत हुन्थे।

चलचित्र निर्देशक समाजका सदस्य एवं कलाकार केशव रायमाझीका अनुसार अब चलचित्र चलाउन सिनेमा घरहरूलाई गाह्रो रहेको छ।

‘इन्टरनेट, मोबाइलका कारण चलचित्र क्षेत्र साँघुरो बन्दै गएको छ। तर पनि हामीले एकैपटक सयौँ दर्शकलाई मनोरञ्जन दिने सिनेमा घरलाई जोगाउन पर्छ। यसमा तीन तहका सरकारले ध्यान दिनुपर्छ जस्तो लाग्छ’, उनले भने।

२०४७ सालमा आँधी चलचित्र निर्माण गरेका रायमाझीले अहिलेको परिस्थितिमा चलचित्र घर सञ्चालनसँगै हेर्न लायक चलचित्र निर्माण हुन छाडेकाे पनि बताउँछन्।

विराटनगरमा पुराना चलचित्र घरमध्ये हिमालय र अरुण सिनेमा मात्र अस्तित्वमा रहेको छ। जलजला सिनेमा, इन्द्र चलचित्र घर त पूर्ण रूपमा विस्थापित भइसकेका छन्। त्यसैगरी, विराटनगरको रानीमा रहेका बाबा चलचित्र घर पनि कोभिड १९ को महामारीपछि सञ्चालनमा आउन सकेका छैनन्।

मल्टीप्लेक्सले केहीहदसम्म दर्शकलाई लोभ्याउन सफल भएको देखिन्छ। भाटभटेनीको क्युएफएक्स, सेन्ट्रल मल, सिटी सिनेमा, आरके मलमा चलचित्र घरले दर्शकको माग धानिरहेका छन्। जहाँ सुविधासहित टिकटको मूल्य अरुण र हिमालयभन्दा बढी रहेको छ।

नयाँ संरचनासँगै सिटको व्यवस्थापन, वातानुकुलित वातावरण, साउण्ड सिस्टम, पर्दा, खानपानले समेत दर्शकलाई आकर्षण गरिरहेको चलचित्रकर्मी जतिन ताम्राकारको भनाइ छ।

 

साउन २८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्