प्रथम देउडा प्रतियोगितामा २१ समूह भिड्दै

सिमकोट – जनै अर्थात् साउने पूर्णिमाको अवसर पारी पहिलो पटक हुन लागेको जिल्लास्तरीय देउडा प्रतियोगितामा २१ टिमको सहभागिता रहने भएको छ।

उक्त प्रतियोगिता कर्णाली कलाकार संस्थाको आयोजनामा साउन २९ गतेबाट हुने भएको हो।
प्रतियोगितामा सिमकोट, खार्पुनाथ र सर्केगार्ड गाउँपालिका गरी २१ टिमले आफ्नो नाम दर्ता गराएका छन्।

त्यसमा महिला र पुरुषको टिम पनि रहेको छ। संस्थाका अध्यक्ष मानबहादुुर रावतका अनुुसार साउन २९ देखि ३१ गतेसम्म प्रथम जिल्लास्तरीय देउडा प्रतियोगिता हुन लागेको हो।

यसका लागि प्रतिस्पर्धा गर्न शनिबार चिठ्ठा तान्ने कार्य भएको र अब त्यसैअनुसार टाइसिट बनाउने कार्य हुनेछ।
प्रतियोगिताका लागि अतिथि कलाकारका रूपमा देउडा गायक रामबहादुर बुढा र गायिका हस्ताना बिसी शनिबार सिमकोट आइपुगेका छन्।

यसअघि देउडा गायक नेत्रबहादुर शाही आउने भनिए पनि अन्तिम समयमा उनले आउन नसक्ने आयोजकलाई जानकारी गराएका थिए।

प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार, द्वितीय हुनेले ३० हजार, तृतीय हुनेले २० हजार र सान्त्वनाले १० हजार रुपैयाँ पाउनेछन्।
यसका लागि सिमकोट गाउँपालिकाले आर्थिक सहयोग गरेको छ।

 

साउन २८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्