पन्ध्र वर्ष आयु बढेको छ, अझै चुनाव लड्छुः झलनाथ खनाल

झापा – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफूलाई अझ जवान अनुभूति भएकाले फेरि पनि इलामको क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने बताएका छन्।

गत साल गम्भीर बिरामी परेर निको भएपछि अझ १५ वर्ष आफ्नो आयु बढेको बताउँदै इलामे जनताको सेवा अझै गर्ने नेता खनालले बताए।

आफ्नो निर्वाचन क्षेत्र इलामको क्षेत्र नं. १ जाने क्रममा शनिबार झापाको बिर्तामोडमा पत्रकारहरूसँग कुरा गर्दै नेता खनालले आफू अझ सक्रिय भएर राजनीति गर्ने बताए।

आगामी मंसिर ४ गतेका लागि तय गरिएको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि सत्ता गठबन्धनले गर्ने तालमेल स्थानीय तहको जस्तो भए त्यो अस्वीकार्य हुने उनले बताए।

चुनाव लड्नका लागि तालमेल र सिट बाँडफाँट भदौको पहिलो वा दोस्रो सातामै सम्पन्न गर्नुपर्ने उनको भनाइ थियो। सत्ता गठबन्धनमा चुनावका लागि सिट बाँडफाँट पेचिलो बनिरहेका बेला एकीकृत समाजवादीका तर्फबाट यो पछिल्लो भनाइ आएको हो।

अब जनता धेरै सचेत भएकाले यस पटकको चुनावमा राजनीतिक दलहरूलाई जोखिम बढेको उनले बताए। जनताले राजनीतिक दलका एजेन्डा र उम्मेदवार सबै अध्ययन गरेर मतदान गर्नुपर्ने नेता खनालको भनाइ थियो।

साउन २८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्