प्रजातान्त्रिक विचार समाजमा प्राज्ञ सुवेदी चयन

मोरङ – प्रजातान्त्रिक विचार समाज मोरङको अध्यक्षमा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी चयन भएका छन्।

विराटनगरमा शनिबार सम्पन्न समाजको १३ औं जिल्ला अधिवेशनले सुवेदीको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो।

अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली कांग्रेस मोरङ जिल्ला उपसभाति एवं विराटनगर महानगरका मेयर नागेश कोइरालाले बौद्धिक व्यक्ति आबद्ध समाजले मुलुकको विकास, समृद्धिका पक्षमा वकालत गर्न आग्रह गरेका थिए।

समाजले पार्टीलाई समेत सही मार्गमा डोर्‍याउन महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिँदै उपसभापति कोइरालाले आउँदो निर्वाचनमा गठबन्धनमा नजाँदा पार्टीलाई फाइदा हुने बताएका थिए।

उनले भने, ‘स्थानीय तहको निर्वाचनको नतिजाबाट धेरै कुरा अनुभव लिएका छाँै। त्यस अनुसार पनि निर्वाचनमा पार्टीले आफ्नो क्षमतालाई जनतामाझ राख्नुपर्छ। यस क्रममा सुशासन, विधिको शासन, देशको आर्थिक विकास र समृद्धिको पक्षमा समाजले आवाज उठाउने अपेक्षा छ।’

त्यसैगरी, समाजको अध्यक्षमा चयन भएका सुवेदीले समाजले आफ्नो भूमिकालाई प्रस्ट रूपमा जनतामाझ राख्नेमा जोड दिएका थिए।

समाजको नयाँ कार्यसमितिमा उपाध्यक्षमा रमानाथ भट्टराई, सचिवमा डिकप्रसाद घिमिरे, सहसचिवमा डिल्लीबहादुर कार्की र कोषाध्यक्षमा दिनेश सिटौलालाई चयन गरेको छ।

त्यसैगरी, अन्य १३ जना सदस्यमा सर्वसम्मत चयन भएका छन्।

अधिवेशनले डा. मदन कोइराला, वरिष्ठ अधिवक्ता भरतबहादुर थापा, ट्रेड युनियन कांग्रेस प्रदेश–१ का अध्यक्ष नारायणबाबु कार्की, प्रा.डा. बलराम पोखरेल, डा. भेषप्रसाद धमला, प्रा. कविराज न्यौपाने र डिल्ली पोखरेललाई समितिको सल्लाहकारमा चयन गरेको छ।

०५२ सालमा स्थापित समाजमा साहित्यकार, पत्रकार, प्राध्यापक, चिकित्सक, इन्जिनियर, वकिल, शिक्षकलगायत आबद्ध छन्।

 

साउन २८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्