काठमाडौँ – ललितपुरमा शनिबार ‘मतया पर्व’ मनाइएको छ। नेवारी समुदायले प्रत्येक वर्ष मनाइने ‘मतया पर्व’ ललितपुरको पाटनमा भव्‍यताका साथ मनाइएको हो।

गाईजात्राको भोलिपल्ट पर्ने यो पर्वमा दिवंगत आफन्तको सम्झनामा सहभागीले हातमा दीप लिएर नगर परिक्रमा गरेका छन्।

विशेषगरी बौद्ध धर्मावलम्बीले मनाउने सो पर्वमा वर्ष दिनभित्र मृत्यु भएका पितृलाई अन्धकारबाट उज्यालोमा लैजान बौद्ध विहार तथा चैत्यमा दीप प्रज्वलन गर्ने गरिन्छ। यसका साथै बुद्धले मारालाई पाजित गरेर त्‍यसमाथि विजयको पाएको दिनको रुपमा लिने गरिन्छ।

साँझसम्म हुने सो कार्यक्रममा मानिसलाई सिंगारिएर स्थानीय नागवहालबाट विभिन्न टोलमा परिक्रमा गराई पुनः नागवहालमा आउने व्यवस्था मिलाइएको छ। यसो गर्दा वर्षभरि मृत्यु भएका व्यक्तिको आत्माले शान्ति प्राप्त गरी स्वर्ग (सुखावती भुवन)मा बास गर्ने सम्बन्धित धर्मावलम्बीको विश्वास छ ।