प्रदेश १ मा हरेक वर्ष अपराधका घटनामा वृद्धि

विराटनगर- प्रत्येक वर्ष प्रदेश १ मा अपराधका घटनाक्रम बढ्दै गएको विराटनगरस्थित सुरक्षा निकायले जनाएको छ।

विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार विगत वर्षको अनुपातमा अपराध बढ्दै गएको हो।

प्रदेश १ प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदीप गिरीले बढ्दो जनसंख्या, सामाजिक सञ्जालको दुरुपयोग, आन्तरिक कलह, बेरोजगारी, गरिबी, जनचेतनाको अभाव लगायतका कारण अपराध बढ्दै गएको बताए।

प्रमुख गिरीका अनुसार अन्जानमा पनि अपराधिक घटनाक्रममा संलग्न हुनेको संख्या बढ्दै गएको छ।

घटनाका विषय प्रहरीसमक्ष जाहेरी हुनासाथ दर्ता गरेर मुद्दाका रूपमा अघि बढाउनुपर्ने अवस्था देखिएको उनको भनाइ छ।

‘प्रहरीको समाजप्रति दायित्व थप बढ्दै गएको छ। प्रहरीको समन्वयकारी भूमिका, कानुनप्रतिको विश्वासले पनि मुद्धा दर्ता गराउनेको संख्या बढ्दै गएकाे देखिन्छ’, प्रमुख गिरीले भने।

विगत तीन वर्षको तथ्यांकले विभिन्न प्रकारका अपराधिक घटनामा वृद्धि भएको देखाएकाे छ।

प्रदेश १ मा आर्थिक वर्ष २०७६/०७७ देखि हालसम्मको ३ वर्षको तथ्यांकमा सामान्य तथा जघन्य प्रकृतिका अपराध बढ्दै गएको देखिन्छ।

आव २०७६/०७७ मा प्रदेशमा ७ हजार ९१ वटा मुद्दा दर्ता भएको प्रहरी तथ्यांक छ।त्यसैगरी, आव २०७७/०७८ मा अपराधको संख्यामा २ सय ९५ वटा घटना बढेको छ। सो वर्ष समग्रमा प्रदेशभर ७ हजार ३ सय ९६ वटा घटना भएका छन्।

आव २०७८/०७९ सम्म आइपुग्दा सो संख्यामा ६ सय ६९ वटा अपराधका घटना बढी भएको प्रहरी तथ्यांक छ। गत आव २०७८/०७९ मा कुल अपराधिक घटना ८ हजार ५५ वटा भएका छन्।

साउन २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्