नेपालमा कोभिड प्यान्डेमिकको एक झलकः साप्ताहिक विश्लेषण

सुरु भयो कोरोनाको नयाँ लहर

पछिल्लो समय ६ महिनाभित्र कोरोना संक्रमणले नेपालमा फेरि एक पटक नयाँनयाँ कीर्तिमान बनाउन थालेको छ। ६ महिनामा पहिलो पटक दैनिक नयाँ संक्रमण दुई हप्ताअघिको सोमबार, पिसिआर परीक्षणअनुसार ६३० नाघेको छ।

हरेक हप्ताको साप्ताहिक कुल संक्रमण पनि डेढ महिनादेखि बढ्दै गएको छ। कोरोना मृत्यु पनि हरेक दिन देखापरिरहेका छन्। यसरी दिनानुदिन बढ्दै गएको कोरोना संक्रमणको अनुपातमा दैनिक परीक्षण भने निकै कम भइरहेको देखिन्छ। जति परीक्षण देशभरि भइरहेका छन् र त्यसका नतिजा देखापरिरहेका छन् तिनका अभिलेख पनि सरकारी तथ्यांकमा समावेश भएजस्तो देखिँदैन।

त्यसमाथि हाल राजधानी र देशका ठूला सहरमा हरेक घरमा रुघा, खोकी, ज्वरोको समस्या पनि व्यापक देखिएको छ। यी सबै कुराले हाल देशमा कोरोना प्यान्डेमिकको नयाँ लहरको थालनी भएको पुष्टि हुन्छ र त्यति मात्रै होइन, सतहमा जति कोरोना संक्रमण देखिएका छन् त्योभन्दा वास्तविक धेरै ठूलो छ भन्नेमा कुनै शंका रहेन।

यसै सेरोफेरोमा नेपालर विश्वको कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा पछिल्लो विश्लेषण विभिन्न स्रोतबाट प्राप्त तथ्यांकको आधारमा तल देखाइएबमोजिम प्रस्तुत गरिएको छ। यस लेखमा उद्धृत गरिएका तथ्यांक विभिन्न स्रोतबाट लिइएका हुन् जस्तैः नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जोन्स होप्किन्स विश्वविद्यालय, डब्लुएचओ, वल्र्डमिटर, आवर वल्र्ड इन डाटा, सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर आदि।

यस लेखको उद्देश्य कोरोनासम्बन्धी तथ्यांकलाई सही रुपमा पस्की विश्व र नेपालको प्यान्डेमिकको सही चित्रलाई पाठकसमक्ष पुर्‍याउनु  हो।

विश्वमा कोरोना प्यान्डेमिक तल–माथि हुने क्रममा दक्षिण एसियामा पछिल्लो अवस्थामा कोरोना संक्रमण बढ्दै गए पनि हाल केही स्थिर देखिन्छ।

दक्षिण एसियाको पछिल्लो करिब ५ हप्ताको सन् २०२२ जुलाई ५ देखि अगष्ट १० (३६ दिन) कोरोना प्यान्डेमिकसम्बन्धी तथ्यांकको विश्लेषण चित्र न. १मा देखाइएको छ। पछिल्लो अवस्थामा दक्षिण एसियाको दैनिक संक्रमणमा वृद्धि हुँदै जाने क्रम रोकिई हाल यो प्रवृत्ति केही स्थिरजस्तो देखिएको छ।

दक्षिण एसियामा एक महिनादेखि दैनिक संक्रमण औसतमा करिब १८०००–२२००० जति देखिने गरेको छ।

त्यस्तै, दैनिक मृत्यु भने हाल पनि वृद्धि हुँदै गएको छ। एक महिनाअघि ३० जति रहेको दक्षिण एसियाको दैनिक कुल कोरोना मृत्यु हाल अधिकतम ६७ पुगेको छ।

नेपालको दैनिक नयाँ संक्रमण

यो हरेक दिन नेपालमा देखिएका या देखिने नयाँ संक्रमितको संख्या हो। सन् २०२२ जुलाई ७ देखि अगस्ट १३ (वि.सं २०७९ श्रावण २२ देखि २८)जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षणर नयाँ संक्रमणको प्रवृत्ति चित्र न.२मा प्रस्तुत गरिएको छ।

यस लेखमा पिसिआर परीक्षणलाई मात्रै गन्ति गरिएको छ। नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत हप्ताको सात दिन, श्रावण २८ गते शनिबारसम्म, देशभरि जम्मा ३०५१ जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या ९९२७२७ पुगेको छ। गत साताभन्दा अघिका सातामा साप्ताहिक कुल संक्रमण क्रमशः ३५७६, २७८१, २०२५,१०८१ थिए। यसरी डेढ महिनादेखि नेपालमा साप्ताहिक कोरोना संक्रमण संख्यामा क्रमिक वृद्धि हुँदै गएको छ।

यद्यपि गत हप्ताको कुल संक्रमणमा केही कमी देखिएको छ। त्यस्तै, गत साता नेपालमा कोरोना मृत्यु पहिलाको भन्दा फेरि बढेको पाइयो। गत हप्ता साताभरिको कोरोना मृत्यु १५ पुगेको छ जुन दुई हप्ताअघि ५ थियो। यसरी हालसम्मको देशको जम्मा कोरोना मृत्यु ११९८६ पुगेको छ।

गत हप्ता जम्मा १७५७४ पिसिआर परीक्षण गरियो जुन दुई हप्ताअघि १९६६१ थियो। गत हप्ता जम्मा परीक्षण कम गरिएको हुनाले जम्मा संक्रमण पनि कम देखिएको छ।

गत हप्ता देशको कुल संक्रमण संख्यामध्ये काठमाडौँ उपत्यकामा ६४.२८% संक्रमण देखियो जुन दुई हप्ताअघि ६८.३९%थियो।

नेपालको दैनिक संक्रमण (पोजिटिभिटी)दर

प्यान्डेमिकको मापदण्डमध्ये पोजिटिभिटी(संक्रमण दर) एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएकामध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँछ।

चित्र न.३ले नेपालको गत हप्ताको दैनिक कोरोना संक्रमण दर र नयाँ संक्रमण प्रवृत्ति देखाएको छ। गत हप्ता पोजिटिभिटी दर न्यूनतम ११.५८%देखि अधिकतम २२.११%सम्म रही साताभरिको औसत पोजिटिभिटी दर १७.३६% रह्यो जुन दुई हप्ताअघि१८.१८% थियो। नेपालमा पछिल्लो समय कोरोना संक्रमण दर वृद्धि हुँदै जाने क्रममा गत हप्ता यसले नयाँ उचाई, २२.११%, भेटेको छ, यद्यपि न्यूनतम संक्रमण दर पनि गत हप्ता केही घटेको पाइयो।

संक्षेपमा, पछिल्लो समय दक्षिण एसियाका अधिकांश देशमा दैनिक कोरोना संक्रमणमा केही हप्तादेखि स्थिरता देखिँदै आएको छ। दैनिक कोरोना मृत्युको प्रवृत्ति भने हाल पनि केही बढ्दै गएको देखिन्छ।

नेपालमा पनि गत हप्ता (वि.सं २०७९ श्रावण २२ देखि २८) साप्ताहिक नयाँ कोरोना संक्रमण र संक्रमण दरमा केही स्थिरता देखिए पनि यी तथ्यांक अझै पनि उच्च नै देखिन्छन्। दैनिक कोरोना संक्रमण दर गत आइतबार २२.११% पुगेको छ जुन ६ महिनामा हालसम्मकै सबैभन्दा उच्च संक्रमण दर हो।

त्यस्तै, साप्ताहिक कुल कोरोना संक्रमण पनि हरेक हप्ता परीक्षणको अनुपातमा वृद्धि हुँदै गएको देखिन्छ जसले नेपालमा प्यान्डेमिक निरन्तर बढिरहेको संकेत गर्छ।

त्यस्तै, हाल नेपालमा साप्ताहिक कोरोना मृत्यु पनि बढ्दै गई गत हप्ता १५ पुगेको छ जुन पछिल्लो समय हालसम्मकै सबैभन्दा उच्च हुन पुगेको छ।

प्यान्डेमिककालमा कोरोना संक्रमण कहाँ र कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन जुन कुरा हाल विश्वका विभिन्न देशा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्छ। तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ति सावित हुन सक्छ।

तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसात् गर्नुपर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, साबुनपानीले हात राम्ररी धुने, अनावश्यक भीडभाड नगर्ने आदि सावधानीका कुरा कडाइसाथ अपनाउनुपर्ने देखिन्छ। पछिल्लो समय अन्य देशमा संक्रमण फेरि बढ्ने प्रवृत्ति देखिएका बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिन्न।

यस लेख नेपालमा साप्ताहिक रूपमा प्यान्डेमिक हेर्ने ऐनाको रूपमा प्रस्तुत गरिएको छ। यसमा नेपाल र विश्वमा प्यान्डेमिकबारे तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रुपमा प्रस्तुत गरिएको छ। प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ–आफ्नो बुझाइ हो। जे भए पनि प्यान्डेमिकविरुद्धको हाम्रो लडाइँ जारी छ, होसियारीपूर्वक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

साउन २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्