निहारिकालाई मानसिक वार्डबाट सारियो

फाइल फोटो

काठमाडौँ – बच्चाको डिएनए टेष्टको माग गर्दै अनसनरत निहारिका राजपूतलाई आँखा वार्डमा सारिएको छ।

न्याय माग गर्दै आत्मदाह प्रयास गरेपछि निहारिकालाई त्रिवि शिक्षण अस्पतालको मानसिक वार्डमा राखिएको थियो।

उनको स्वास्थ्य अवस्था सामान्य भएको भन्दै मानसिक वार्डबाट आँखा वार्डको क्याविनमा सारिएको अस्पतालका प्रवक्ता राम विक्रम अधिकारीले बताए।

उनले भने,‘उहाँको स्वास्थ्य अवस्था सामान्य छ। अहिले आँखा वार्डको क्याविनमा सारेका छौँ। सुरुमा उहाँलाई इमर्जेन्सिमा ल्याइएको थियो। आफैलाई जलाउने कोशिस गरेपछि मेन्टल डिसअडर हो कि भनेर मेन्टल वार्डमा पाइएको थियो। तर सबै ठीक छ।’

चिकित्सकले औषधि खानका दिए पनि निहारिकाले खान नमानेको अधिकारीले बताए। उनले भने,‘उहाँको शरीरलाई रिल्याक्स होस् भनेर दुई वटा खाने औषधि दिइएको थियो तर उहाँले खान मान्नु भएन। तर, सलाइन भने चढिरहेको छ।’

निहारिका अनसनमा भएका कारण अस्पतालले डिस्चार्ज गर्न नमिल्ने उनले बताए। ‘उहाँ अनसनमा हुनुहुन्छ। सलाइन चढाइरहेको छ। यो अवस्थामा हामीले बिरामीलाई डिस्चार्ज गर्ने भन्ने हुँदैन’, उनले भने।

शुक्रबार राष्ट्रपति भवन अगाडि आत्मदाह प्रयास गरेपछि तत्काल प्रहरीले निहारिकालाई नियन्त्रणमा लगिएको थियो। त्यहाँबाट शिक्षण अस्पतालको इमर्जेन्सीमा प्राथमिक उपचार गरेपछि मानसिक वार्डमा भर्ना सारिएको थियो।

निहारिकासँगै उनको दुई वर्षको छोरा पनि छन्।

निहारिकाले आफू बलात्कृत भएको र बलात्कारबाट जन्मिएको बच्चाको डीएनए जाँच गराउनुपर्ने, बलात्कारीलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने, बच्चाको लालनपालन, हेरचाह, स्वास्थ्योपचार, शिक्षाको सुनिश्चितता गर्नुपर्ने माग राख्दै अनसनमा बस्दै आएकी छन्।

योभन्दा अघिल्लो पटक निहारिका वैशाख २८ गते अनसन बसेकी थिइन्। त्यही क्रममा सरकारले उनीसँग ५ बुँदे सहमति गर्दै असार ३ गते अनसन तोडाएको थियो। गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस खाएर उनले अनसन तोडेकी थिइन्।

आफ्ना माग पूरा नभएको भन्दै साउन २० गतेदेखि निहारिका पुनः अनशन बसेकी छन्।

साउन २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्