प्रथम जिल्लास्तरीय देउडा प्रतियोगिता सुरु (फोटो फिचर)

सिमकोट – जनै अर्थात् साउने पूर्णिमाको अवसर पारी पहिलो पटक जिल्लास्तरीय देउडा प्रतियोगिता सुरु भएको छ। देउडा संस्कृति बचाउन आयोजना गरिएको प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले देउडा गाएर उद्घाटन गरेका हुन्।

प्रतियोगितामा सिमकोट, खार्पुनाथ र सर्केगार्ड गाउँपालिका गरी २१ देउडा पारखीबीच प्रतियोगिता सुरु भएको आयोजक कर्णाली कलाकार संस्थाका अध्यक्ष मानबहादुर रावतले जानकारी दिए।

त्यसमा १७ महिला र चार पुरुष समूहबीच प्रतियोगिता सुरु भएको हो। समूह विभाजन गरेअनुसार महिला–पुरुषबीच पनि भिड्नु पर्नेछ। एउटा समूहले बाई पाएको र बाँकी बीस वटा समूहबीच आइतबार नकआउट चरणको प्रतियोगिता हुनेछ। सोमबारबाट विजेता ११ समूहबीच पनि नकआउट प्रतियोगिता हुनेछ। ३१ गते भने फाइनल प्रतियोगिता हुनेछ।

अतिथि कलाकारबाट सो दिन देउडा प्रस्तुति गरिने कार्यक्रम रहेको सो प्रतियोगिताका लागि अतिथि कलाकारका रूपमा देउडा गायक मानबहादुर बुढा र गायिका हस्ताना बिसी शनिबार सिमकोट आइपुगेका छन्।

प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार, द्वितीय हुनेले ३० हजार, तृतीय हुनेले २० हजार र सान्त्वनाले १० हजार रुपैयाँ पाउनेछन्।

यसका लागि सिमकोट गाउँपालिकाले आर्थिक सहयोग गरेको छ। कार्यक्रममा सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, प्रमुख जिल्ला अधिकारी सीता परियारलगायत सहभागी थिए।

 

साउन २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्