त्रिविलाई अखिल क्रान्तिकारीले सोध्योः प्रश्नपत्र दोहोरिएको विषयमा छानबिन समितिको प्रतिवेदन कहिले आउँछ?

फाइल फोटो।

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयमा हुबहु दोहोरिएको प्रश्नपत्र छानबिनका लागि गठित समितिले आफ्नो प्रतिवेदन नबुझाएकोमा आपत्ति जनाएको छ।

अनेरास्ववियु क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहले विज्ञप्ति जारी गर्दै छानबिनको नाममा दोषीलाई उन्मुक्ति दिन खोजिएको आरोप लगाएकी छन्।

‘एक महिना बितिसक्दा पनि हुबहु दोहोरिएको प्रश्नपत्र छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छैन। कतै छानबिनको नाममा प्राविधिक त्रुटी भएको भन्दै दोषीलाई भित्रभित्रै उन्मुक्ति दिने षड्यन्त्र भैरहेको त छैन?,’ भनेको भनिएको छ, ‘सत्य तथ्य बाहिर ल्याउन गठित समिति स्वयं कतै घटनालाई लुकाउने काम गरिरहेको त छैन? आज छानबिन समितिमाथि नै छानबिन गर्नुपर्ने डरलाग्दो अवस्था निर्माण हुन थालेको देखिन्छ।’

व्यवस्थापन संकायको प्रश्नपत्र दोहोरिएको घटना छानबिनका लागि बनाइएको छानबिन समितिको प्रतिवेदन सत्यतथ्यसहित तत्काल सार्वजनिक गर्न समेत अखिल क्रान्तिकारीले माग गरेको छ।

ट्रान्स्क्रिप्ट, प्रोभिजनल, माइग्रेसनको लागि देशका विभिन्न क्याम्पसबाट फेरि पनि त्रिभुवन विश्वविद्यालय धाउन पर्ने अवस्था रहिरहे विश्वविद्यालयकाविरुद्ध आन्दोलन गर्ने समेत अखिल क्रान्तिकारीको चेतावनी छ।

यसअघि आफूहरुले त्रिविलाई बुझाएको १८ बुँदे मागबारे पनि अखिल क्रान्तिकारीले ध्यानाकर्षण गराएको उपाध्यक्ष जीपी मैनालीले जानकारी दिए।

साउन २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्