मुख्य प्रशिक्षक प्रभाकर भन्छन्ः नेपाली क्रिकेट टोलीको ब्याटिङमा दुई–तीन महिनाभित्र सुधार हुन्छ

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले दुई–तीन महिनाभित्र नै नेपाली टोलीको ब्याटिङमा सुधार गर्ने दाबी गरेका छन्।

मुख्य प्रशिक्षक प्रभाकरले आइतबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीको मुख्य समस्या ब्याटिङ रहेको भन्दै ब्याटिङलाई दुई–तीन महिनामा नै सुधार गर्ने बताएका हुन्।

उनी नेपाली राष्ट्रिय क्रिकेट टोली सम्हाल्न शनिबार नेपाल आएका हुन्।

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रशिक्षक प्रभाकरले पहिलो दिन आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सबै खेलाडीको ब्याटिङ हेरेको र उनीहरुमा भएको कमिकमजोरी भेटाएको भन्दै सुधार गर्ने वाचा गरे।

प्रभाकरले नेपाली खेलाडीले आईपीएलको सिको गरिरहेको भन्दै खेलाडीमा टेक्निक नभएको र टेक्निकलाई सुधार गर्ने बताए।

विश्व क्रिकेट लिग–२ मा नेपाली टोलीले २० खेल खेलिसकेको छ। नेपाली टोलीका लागि अब १६ खेल बाँकी रहेको भन्दै प्रशिक्षक प्रभाकरले धेरैभन्दा धेरै खेलमा सुखद् नतिजा निकाल्ने लक्ष्यका साथ टोलीलाई अभ्यास गराउने बताए।

नेपाली टोलीले विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै आए पनि धेरैजसो खेलमा कमजोर ब्याटिङका कारण पराजित हुने गरेको प्रशस्तै उदाहरणहरु छन्। तर, पछिल्लो समय टोलीभित्र नै विवाद भइरहेको अवस्थामा प्रशिक्षक प्रभाकरलाई टीमलाई एकढिक्का बनाएर अगाडि बढाउनु पर्ने चुनौती छ।

खेलाडीबीच गुट/उपगुट पनि टोलीको अर्को समस्या रहेको छ। यस विषयमा पत्रकारले सोधेको प्रश्नमा प्रशिक्षक प्रभाकारले कुनै पनि परिवारभित्र समूह भएको अवस्थामा परिवारलाई सफलता नमिल्ने भन्दै र परिवारभित्रको पीडा सबैको पीडा हुने र समाधान गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाए।

यस्तो समस्या सबैतिर हुने गरेको र यसलाई समाधान गर्न जिम्मेवारी दिएको अवस्थामा समस्या सुल्झिने बताए।

साउन २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्