चुनावमा एमाले र राप्रपाबीच तालमेल कति सम्भव?

काठमाडौँ – मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मिति घोषणा भएसँगै दलहरु चुनावी तयारीमा केन्द्रित भएका छन्।

सत्ता पक्षीय पाँच दलले आउँदो दुवै चुनावमा गठबन्धन गर्ने औपचारिक निर्णय गर्दै सिट बाँडफाँट गर्न कार्यदल बनाएर काम थालिसकेका छन्। पाँच दलले चुनावी तयारी ठोस रुपमै अघि बढाएसँगै इतर दलहरु चुनावमा कसरी जाने भन्ने आन्तरिक र बाह्य छलफलमा जुटेका छन्।

त्यसै क्रममा शनिबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बालबोट पुगेर एमाले अध्यक्ष केपी ओलीसँग आउँदो चुनावमा मिलेर जानेबारे छलफल सुरु गरेका छन्। पाँच दलीय गठबन्धनले पराजित गर्ने घोषणा अनुसार तयारी अघि बढाएसँगै एमाले दबाबमा परेको छ।

उता राप्रपा पनि कुनै न कुनै गठबन्धनमा आबद्ध भएर चुनावमा जाने तयारीमा छ। त्यसो हुँदा एमाले र राप्रपाबीचको चुनाव तालमेल सम्भावनाको नजिक देखिन्छ। शनिबार भएको दुई अध्यक्षको भेटपछि राप्रपाका नेताहरु केही उत्साहित देखिएका छन्।

प्रवक्ता मोहन श्रेष्ठ भन्छन्, ‘देशभक्त राष्ट्रवादीहरुबीच सहकार्य गर्ने हाम्रो पार्टीको नीति छ, त्यसै अनुसार छलफल/सल्लाह सुरु भएको छ। हामीले सम्भावनाको खोजी गरेका हौँ।’

तालमेल गर्ने ठोस प्रगति भने हासिल भइनसकेको दुवै पक्षका नेताहरु स्वीकार गर्छन्। शनिबारको कुराकानी प्रारम्भिक मात्रै भएकाले भन्न लायक ठोस केही नभएको अध्यक्ष लिङ्देनलको दाबी छ। उनी भन्छन्, ‘भर्खरै कुराकानी भएको छ। त्यस्तो भन्न लायक केही भएको छैन। एक दुई दिनमा फेरि बसेर छलफल गर्छौँ।’

एमाले उपमहासचिव विष्णु रिमाल अहिले एमाले गठबन्धन वा चुनावी तालमेलको पक्षमा नरहेको दाबी गर्छन्। चुनावका विषयमा विभिन्न खालका व्यक्तिसँग भेट हुने क्रममा राप्रपा अध्यक्षसँग पनि भएको उनले बताए।

‘राप्रपासँग तालमेल गर्ने विषयमा टुंगोमा पुगेको छैन। स्थानीय आवश्यकताका आधारमा भयो भने, मात्रै हो। नीतिगत रुपमा हामी गठबन्धनको पक्षमा छैनौँ,’ रिमालले अगाडि भने, ‘विभिन्न व्यक्तिहरुले भेटिहरेका छन्। त्यसै क्रमको भेट हो।’

पाँच दलीय गठबन्धनको विरोध गरिरहेका एमालेका नेताहरु खुला रुपमा अरु दलसँग चुनावी सहकार्य हुने कुरा स्वीकार गर्न तयार छैनन्। किनकि ‘एमाले एक्लै चुनावमा प्रतिस्पर्धा गर्न काफी छ’ भन्ने मनोविज्ञान कार्यकर्तासम्म पुर्‍याउनुपर्ने दबाबमा पनि एमाले नेताहरु छन्।

दुवै दल चुनावी सहकार्यमा जान किन पनि तयार हुनेछन् भने झापामा ओली र लिङ्देनले एक अर्काको सहयोगबिना चुनाव जित्न मुस्किल छ। २०७४ सालको चुनावमा ओलीले झापा–३ र लिङ्देनले झापा–४ बाट एक अर्काको सहयोगमा चुनाव जितेका थिए। गत वैशाखमा भएको स्थानीय तहको चुनावमा राप्रपालाई पाँच दलीय गठबन्धनले साथ दिँदा ओलीको गृहनगर दमक राप्रपाको पोल्टामा पुगेको घटना ताजै छ।

गत वैशाखमा भएको स्थानीय तहको चुनावमा चितवन, वीरगञ्जसहितका केही ठाउँमा चुनावी सहकार्य गरेका एमाले र राप्रपाले आउँदो चुनावको लागि पनि ढोका खोलिसकेका छन्।

दुवै दल चुनावी सहकार्यमा जान किन पनि तयार हुनेछन् भने झापामा ओली र लिङ्देनले एक अर्काको सहयोगबिना चुनाव जित्न मुस्किल छ। २०७४ सालको चुनावमा ओलीले झापा–३ र लिङ्देनले झापा–४ बाट एक अर्काको सहयोगमा चुनाव जितेका थिए। गत वैशाखमा भएको स्थानीय तहको चुनावमा राप्रपालाई पाँच दलीय गठबन्धनले साथ दिँदा ओलीको गृहनगर दमक राप्रपाको पोल्टामा पुगेको घटना ताजै छ।

झापा बाहेक देशका अरु निर्वाचन क्षेत्रमा पनि दुई दल मिल्दा गठबन्धनलाई चुनौती दिनसक्ने अवस्था रहेको दुवै पार्टीका नेताहरु स्वीकार गर्छन्। काठमाडौँ–२, मकावनपुर, कपिलवस्तु, बाँकेलगायतका जिल्लामा राप्रपासँग मिल्दा गठबन्धनलाई चुनौती दिन सकिने मूल्यांकन एमालेभित्र छ।

गत वैशाख ३० गते भएको स्थानीय तहको चुनावमा वडा अध्यक्षहरुले पाएको मतलाई हेर्दा पनि दुई दलबीचको गठबन्धन भएमा आउँदो चुनावमा त्यसले परिणामलाई फरक पार्छ नै।

स्थानीय चुनावमा एमालेले वडा अध्यक्षमा दोस्रो धेरै ३८ लाख ११ हजार ६ सय २ मत पाएको थियो जुन सदर मतको ३३.०३ प्रतिशत हो। वडाध्यक्षका उम्मेदवारले पाएको मतलाई गणना गर्दा राप्रपाले ३ लाख ६५ हजार ८ सय ५९ मत ल्याएको थियो  जुन सदर मत १ करोड १५ लाख ४ हजार ३८ को ३.१६ प्रतिशत हुन आउँछ। जम्मा ५३ वडा अध्यक्ष जिते पनि राप्रपाले ३ हजार ६३ वडा वडामा उम्मेदवार खडा गरेको थियो। दुवै दलको जोड्दा ३६.१९ प्रतिशत हुन आउँछ।

नेपालमा अहिले भनिरहेका गठबन्धन कुनै राजनीतिक विचारका आधारमा भन्दा तत्काल पाउने लाभमा केन्द्रित भएकाले एमाले र राप्रपा त्यसबाट अछुतो रहने सम्भावना देखिन्न। संघीयता कट्टर विरोध जनमोर्चा पक्षधर कांग्रेस माओवादी समाजावदीसँग मिलेर शक्ति आर्जनमा केन्द्रित भए जस्तै राजतन्त्रको पक्षधर र संघीयता विरोध राप्रपा एमालेसँग मिल्नु नौलो कुरा भएन।

साउन २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्