उम्मेदवारलाई सचेत गराउँछौं, जनतालाई भोट हाल्न नजानू भन्छौँः सुदर्शन

नेपालगञ्ज – नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का प्रवक्ता हेमन्तप्रकाश वली ‘सुदर्शन’ले मंसिर ४ गतेको चुनावमा भाग नलिने र जनतालाई पनि भाग नलिन आह्वान गर्ने बताएका छन्।

‘हामी चुनावमा भाग लिँदैनाैँ। जनतालाई पनि भोट हाल्न नजानू भन्छौँ, नेपालगञ्जमा आइतबार आयोजित पत्रकार भेटघाटमा प्रवक्ता सुदर्शनले भने, ‘उम्मेदवारलाई पनि सचेत गराउँछौँ।’

उनले चुनावविरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने बताए। पार्टी प्रवक्ता सुदर्शनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नवप्रतिक्रियावादी भएको टिप्पणी गरे। विगतमा प्रचण्डले नेकपा एमालेलाई नवप्रतिक्रियावादी भन्ने गरेकोमा अहिले आफँै त्यही दिशामा हिँडेको उनको आरोप छ।

‘विगतमा माओवादीले कांग्रेसलाई प्रतिक्रियावादी र एमालेलाई नवप्रतिक्रियावादी भन्ने गथ्र्याे। अहिले प्रचण्ड नवप्रतिक्रियावादी दिशामा गएका छन्,’ प्रवक्ता सुदर्शनले थपे, ‘माओवादीमा वर्ग विचलन भएको छ।’
प्रवक्ता सुदर्शनले कर्णाली ब्युरोको कार्यक्रम सकेपछि आयोजित पत्रकार भेटघाटमा अहिलेको देशको समस्या स्वाधीन संयुक्त सरकार निर्माण गरेर मात्रै समाधान हुने बताए।

उनले त्यसका लागि देशभक्त र वामपन्थ एकजुट हुनुपर्ने बताए। प्रवक्ता सुदर्शनले वामपन्थीबीच एकता प्रक्रिया थालिसकेको जानकारी दिए। उनका अनुसार मोहन वैद्यले नेतृत्व गरेको माओवादी क्रान्तिकारीसँग एकताका लागि पार्टी एकता संयोजन समिति बनाइएको छ। अरूलाई पनि जोड्दै लैजाने तयारी छ।

कर्णाली ब्युरोका इन्चार्ज सुदीपले सरकारले विगतमा गरेको तीनबुँदे सहमतिको पूर्ण पालना नगरेको बताए।

साउन २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्