राष्ट्रपतिले फिर्ता पठाइन् नागरिकता विधेयक

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छन्।

दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइएको विधेयकले उनले फिर्ता गरेकी हुन्।

गत साउन १५ गते सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति भण्डारी समक्ष पेश गरेका थिए।
विधेयक पुनःविचार गर्नुपर्ने भएकाले फिर्ता गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

नागरिकता विधेयक फिर्ता गर्ने मुडमा राष्ट्रपति भण्डारी

तर कुन पक्षमा पुनःविचार गर्नु भनेर फिर्ता गरेको राष्ट्रपति कार्यालयले सार्वजनिक रुपमा उल्लेख गरेको छैन।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘...प्रमाणीकरणका लागि पेश हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकोले नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देश सहित यो विधेयक सम्माननीय राष्ट्रपतिज्यूले प्रतिनिधि सभामा फिर्ता पठाउनु भएको छ।’

चार वर्षसम्म संसदमा अड्केको विधेयक सरकारले फिर्ता गरेर गत असारमा अन्तिममा संसदमा नयाँ विधेयक लगेको थियो।

जन्मसिद्धका सन्तानले वंशाजनको नागरिकता पाउने र गैरआवासीय नेपालीले राजनीतिक बाहेकको अधिकार प्रयोग गर्ने गरी नागरिता पाउने संविधानकै प्रावधानलाई जस्ताको त्यस्तै राखेर विधेयक फिर्ता पारित गरिएको थियो। दुवै सदनले फाष्टट्राकमा विधेयक पारित गरेका थिए।

 

साउन २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्