हुम्लाबाट आउने बिरामीका लागि काठमाडौँमा रक्तदान

सिमकोट – हुम्लाबाट बिरामी भएर उपचार गर्न काठमाडौँ पुग्ने बिरामीका लागि काठमाडौँमा रक्तदान गर्ने कार्य भएको छ।

दुर्गमबाट काठमाडौँका अस्पतालमा उपचार गर्न पुगेका बिरामीलाई रगत आवश्यक पर्दा समस्या हुने देखिएपछि काठमाडौँमा अध्ययन गर्दै आएका विद्यार्थीले रक्तदान गरेका हुन्।

रक्तदान कार्यक्रम आयोजना गरेर रगत दान गरिएको नेपाल विद्यार्थी संघ हुम्ला काठमाडौं सम्पर्क समितिका अध्यक्ष अंगबहादुर सिंहले बताए।

उनले ३५ जना विद्यार्थीले रक्तदान गरेको बताए।

उक्त रगत रेडक्रसको जिम्मा लगाइएको छ। यसका लागि नेपाल रेडक्रस सोसाइटीसँग समितिले कुरा पनि गरेको छ। उनले जम्मा गरेको रगत रेडक्रसले प्रयोग गर्न सक्ने तर पछि हुम्लाका बिरामी रगत अभाव देखिए त्यसको सोधभर्ना गर्ने गरी दिएको उनले बताए।

उनले यसका लागि रेडक्रस पनि सकारात्मक रहेको बताए। दुर्गमबाट उपचार गर्न काठमाडौँ पुगेका बिरामीलाई रगत आवश्यक परे समस्या हुने गरेको छ।

यसअघि पनि जिल्लाबाट उपचार गर्न काठमाडौँ पुगेका बिरामीलाई रगत आवश्यक पर्दा विद्यार्थीलाई खबर गरेर रगत दिने गरिन्थ्यो ।

 

साउन २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्