पर्यटनमन्त्री श्रेष्ठ भन्छन्ः नयाँ हिमालहरु आरोहणका लागि खुला गर्दैछौँ

पर्यटनमन्त्री जीवनराम श्रेष्ठ। फाइल तस्बिर

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अहिले प्रयोगमा नआएका नयाँ हिमालहरुमा आरोहण खुला गर्ने बताएका छन्।

आइतबार नेपाल पर्वतारोहण संघको ३२ औँ साधरण सभालाई सम्बोधन गर्दै उनले सरकारले ५ हजार ८ सय मिटरदेखि ८ हजार मिटरसम्मका नयाँ हिमालहरुमा पर्वतारोहणको लागि अनुमति दिने तयारी गरेको बताएका हुन्।

उनले कुन–कुन हिमालहरुमा आरोहण गर्न सकिन्छ र कुन–कुन हिमालहरुमा आरोहण खुल्ला गर्दा पर्यटन आगमन बढेर त्यो क्षेत्रको जनजीवनलाई समेत लाभावित बनाउन सकिन्छ भन्ने कुराको समीक्षा गरेर हिमाल आरोहणको अनुमति दिने बताए।

मन्त्री श्रेष्ठले पर्वतारोहणसम्बन्धी अन्योलमा रहेका ऐन, कानून र नियमहरु सरकार तत्काल निराकरण गर्न तयार रहेको बताए।

उनले सरकारले विगतमा एक वर्षको लागि भ्रमण वर्ष तोकेर काम गर्ने प्रचलन अन्त्य गरी अब एक वर्षको भ्रमण वर्ष भइ २०२३ देखि २०३३ सम्म नेपाल भ्रमण दशक घोषणा गरेर पर्यटन क्षेत्रलाई व्यवस्थित बनाउने उल्लेख गरे।

मन्त्री श्रेष्ठले नेपाल विश्वको पर्यटकको गन्तव्यस्थलको रुपमा विकास गर्न आवश्यक रहेको बताए। उनले नेपालका हिमाल, पहाड, प्राकृतिक खालका उचाईहरुमा पर्यटन खेलकुदको विकास गर्नु आवश्यक रहेको बताए।

उनले भने, ‘अन्योलतामा रहेका पर्वतारोहणसम्बन्धी ऐन नियमहरु तत्कालै सम्बन्धित सरोकारवाहरुसँग बसेर सरकारले निराकरण गर्नेछ। तपाईंहरु आफ्नो काम निर्धक्क भएर अगाडि बढाउन आग्रह गर्दछु। सरकारले पर्यटन क्षेत्रको विकासको लागि नयाँ हिमालहरुमा आरोहण गर्ने अनुमति दिनुपर्छ भन्ने सोच राखेका छौँ।

अहिले जे जति हाम्रा हिमाल आरोहण गर्ने अनुमति दिने काम भइरहेको छ। त्यसको अतिरिक्त अहिले प्रयोगमा नआएका ५ हजार ८ सय मिटरदेखि ८ हजार मिटरसम्मका नयाँ हिमालहरुमा पनि आरोहणको लागि अनुमति प्रदान गर्ने भन्ने मन्त्रालयले योजना अगाडि सारेको छ।’

साउन २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्