सुपारीको जालो, उच्च अदालतद्वारा नियन्त्रणमा रहेका ट्रक यथास्थितिमा राख्न आदेश

प्रहरीले नियन्त्रणमा लिएका सुपारीसहितका ट्रक। फाइल तस्बिर।

मोरङ – विराटनगरस्थित उच्च अदालतले भारततर्फ तस्कर गरी लैजान खोजिएको आशंकामा बरामद गरिएको आठ ट्रक सुपारीको सिलबन्दी यथास्थिति अवस्थामा राख्न आदेश दिएको छ।

आइतबार अदालतमा न्यायाधीश मिलनकुमार राईको इजलासले ट्रकको सिलबन्दी तत्काल नखोल्न अन्तरिम आदेश जारी गर्दै छलफलका लागि दुवै पक्षलाई बोलाएको छ।

अदालतका सूचना अधिकारी ओमप्रसाद सुवेदीले ट्रकमा लगाइएको सिलबन्दी यथावत् राख्दै निवेदक र विपक्षीलाई मंगलबार छलफलका लागि बोलाउने आदेश भएको जानकारी दिए।

साउन ५ गते विराटनगरबाट सुनसरीस्थित भन्सारबाट भारततर्फ लैजाने क्रममा विराटनगर– १८ बाट ट्रक प्रहरीले नियन्त्रणमा लिएको थियो।

यस क्रममा भारतको जोगबनी कस्टमबाट पत्र बनाएर सुनसरीस्थित भन्सारबाट लैजाने तयारीमा प्रहरीले सुपारी लोड गरिएको युपी ४५ टी १६२४, एमपी ०९ एचजी ८३२०, एमपी २२ एच १०३१, युपी ५० बिटी ७२७७, युपी ६२ बिटी ८१२१, युपी ५४ टी ६४२९, युपी ५० एटी ३१५८ र युपी ६२ सिटी ०६२७ नम्बरका ट्रक नियन्त्रणमा लिएको थियो।

ती सुपारी इन्डोनेसियाबाट नेपाल भित्र्याउँदै भारत लैजाने योजनामा रहेको बताइएको छ।

प्रहरीले सुपारी लोड गरिएको ट्रक नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीको जिम्मा लगाएको थियो।

कार्यालयमा रहेको सुपारी अन्ततः के होला भन्ने चर्चा चलिरहँदा अदालतले सिलबन्दी नखोल्न अन्तरिम आदेश दिएर दुवै पक्षलाई छलफलका लागि बोलाएको हो।

सुपारीका निर्यातकर्ताका रुपमा देखिएका विराटनगर मनकामना ट्रेडर्सले गत बिहीबार उत्प्रेषण परमादेश प्रतिषेध माग गर्दै उच्च अदालतमा रिट दायर गरेको थियो।

रिट निवेदनमा जिल्ला प्रहरी कार्यालय मोरङ, भन्सार विभाग, भन्सार कार्यालय विराटनगर र राजस्व अनुसन्धान कार्यालय इटहरीलाई विपक्षी बनाइएको छ। अदालतका सूचना अधिकारी सुवेदीका अनुसार आदेशअनुसार पक्ष र विपक्ष दुवै मंगलबार छलफलका लागि अदालतमा उपस्थित हुनुपर्ने हुन्छ।

प्रहरीले नियन्त्रणमा लिएको ८ वटा ट्रकमा २ लाख १९ हजार पाँच सय ९६ किलोग्राम सुपारी छ। नेपाली ७ करोड ६३ लाख ८१ हजार पाँच सय ६८ रूपैयाँ र भारतीय मूल्य ५ करोड ३९ लाख ८८ हजार चार सय ८० रुपैयाँ बराबरको सुपारी नियन्त्रणमा लिइएको हो।

किन विदेशबाट आयात हुँदै भारत निर्यात हुन्छ सुपारी ?

हाल नियन्त्रणमा आएको ८ वटा ट्रक सुपारी इन्डोनेसियाबाट सरकारी कोटामा आयात गरिएको बताइएको छ।

सुपारीमा उच्चपदस्थसम्म ठूलो रकममा मिलेमतो हुने गरेको व्यापारी बताउँछन्। यद्यपि, नेपाली उत्पादनबाहेक नेपालबाट विदेशी मुलुकको सुपारी भारत निर्यात गर्न पाइँदैन। यस क्रममा सुपारी निर्यातकर्ताले तेस्रो मुलुकबाट सुपारी नेपाल भित्र्याउँदै नेपाली उत्पादनको झुटो पत्र बनाएर निकासी गर्ने गरेको उनीहरू बताउँछन्।

भारतमा तेस्रो मुलुकबाट सुपारी आयात गर्न व्यापारीलाई ठूलो मात्रामा कर तिर्नुपर्ने हुन्छ। जसको तुलनामा नेपालको उत्पादन भनी भारततर्फ निर्यातमा कम कर लाग्ने गरेको छ। नेपालबाट भारततर्फ निर्यात गर्ने एक व्यापारीका अनुसार भारतमा विदेशबाट सुपारी आयात गर्दा बढी कर लाग्ने गरेको छ।

उनका अनुसार भारतमा तेस्रो मुलुकबाट सुपारी आयात गर्दा १ सय ५० प्रतिशत भन्सार शुल्क लाग्ने गर्छ।

त्यसैगरी, जिएसटी १८ प्रतिशत, अन्तःशुल्क ६ प्रतिशत र विविध कर ४ प्रतिशत लाग्ने गरेको छ। जसकारण सुपारी आयातमा भारतीय व्यापारी अनिच्छुक रहने गर्छन्। तर, त्यसको अनुपातमा नेपालमा भन्सार शुल्क प्रति टन १ लाख, अन्तः शुल्क १ लाख र १३ प्रतिशत भ्याट लाग्ने गर्छ। त्यसैगरी, नेपालबाट नेपाली उत्पादनको पत्र प्रस्तुत गर्दै भारततर्फ लैजाँदा जिएसटी कर मात्र लाग्ने गरेको उनीहरू बताउँछन्।

उनीहरूको अनुसार झापामा रहेका उद्योगी, तथा सुपारी व्यवसायीबाट प्रतिकिलो ६ रुपैयाँदेखिको रकम दरमा कागजात बनाइने गरिन्छ। नेपालमा इन्डोनेसिया मलेसियाबाट सुपारी भित्र्याउँदा बंैकिङ प्रणाली र अर्को हुण्डीमार्फत रकम विदेश पठाइने उनीहरूले बताएका छन्। यस क्रममा भारतमा लाग्ने अधिकर र नेपालमा भित्र्याएर कम करमा भारत लैजान सस्तो पर्ने हुँदा यो मार्ग हँुदै सुपारी तस्करी हुने गरेको छ।

नेपालमा उत्पादन भएको सुपारी मात्रै भारत निर्यात गर्न पाइन्छ। तेस्रो मुलुकबाट आयात गरेर सुपारी निर्यात गर्न पाइँदैन। तर, खुला सीमाको फाइदा उठाउँदै प्रक्रिया पूरा गरेजस्तो देखाएर तस्करीमार्फत भारत पु¥याउने गरिएको छ। भारततर्फ तस्करी गर्नकै लागि बर्सेनि ठूलो परिमाणमा सुपारी आयात हुने गरेको छ।

विराटनगर भन्सार हुँदै तेस्रो मुलुकबाट ०७८/७९ मा ५७ लाख ४८ हजार २ सय ५५ किलो सुपारी आयात भएको छ। सो क्रममा भन्सार कार्यालय रानीका प्रवक्ता रामचन्द्र ढुंगानाका अनुसार १ अर्ब २६ करोड ६६ लाख ७७ हजार रूपैयाँ बराबरको सुपारी आयात भएको छ।

उनका अनुसार सुपारी आयातबाट ७५ करोड ४९ लाख ३२ हजार रूपैयाँ राजस्व संकलन भएको छ। भन्सार कार्यालयका अनुसार राठी ट्रेडिङ, ग्लोबल विराट इन्टरनेशनल, अम्बे ट्रेडिङ, तिरुपति ट्रेड लिंक र पिके ट्रेडर्सले सुपारी आयात गर्दै आएका छन्। आयातकर्ताले नेपाल सरकारसँग कोटा लिएर आयात गर्ने गरेको कार्यालयको भनाइ छ।

साउन २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्