काठमाडौँको फोहोर फ्याँक्न नपाउँदा आक्रोशित भए बालेन

काठमाडाैँ महानगरपालिकाका मेयर बालेन शाह। फाइल तस्बिर।

काठमाडौँ- आफूले बाचा गरेबमोजिम आइतबार बञ्चरेडाँडामा फोहोर फ्याँक्न नपाउँदा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह आक्रोशित बनेका छन्।

उनले आफूले दैनिक २५० देखि ३५० फोहोर बोक्ने गाडीहरुले बञ्चरे डाँडामा फोहोर लैजाने जानकारी गराए पनि दुई स्थानमा अलग अलग कारणले सडक अवरुद्ध गरिँदा ९० वटा फोहोरका गाडीहरु मात्र बञ्चरे डाँडा पुग्न पाएको भन्दै रोष व्यक्त गरेका हुन्।

उनले फोहोर पानीको मुहानमा लगेर फ्यालिएको भनेर सडक अबरुद्ध गरिएकामा दोषीलाई कारबाही भइसकेको जानकारी पनि गराए। त्यस्तै, फोहोर बोक्ने गाडीले बाख्रा मारेको भन्ने अर्को अवरोधको कारण पनि समाधान भइसकेको उनले सामाजिक सञ्जालमा लेखेका छन्।

यी दुई अवरोध हटाउनेबित्तिकै अर्को अवरोधको कसरत हुँदै गरेको जानकारी पाएको भन्दै उनले आक्रोश पोखेका हुन्।

‘वास्तवमै त्यो कसरत हो भने त्यो बिडम्बनापुर्ण हुनेछ । बञ्चरे डाँडमा फोहोर व्यवस्थापनका लागि कतिपय संरचनाहरु बनिसकेका छन् । भुमि लिन तथा संरचना निर्माणमा र प्रभावितहरुले पाउने सुविधा तथा मुअब्जा जस्ता काममा ५ अर्ब खर्च भइसकेको छ । यो झुक्याएर गरिएको पनि थिएन । यसका वैधानिक सम्झौताहरु छन् । ती सम्झौताहरुको पालना गर्नु सबैको कर्तव्य हो,’ उनले लेखेका छन्।
उनले संविधानले परिकल्पना गरे अनुरुप आपसी समन्वय तथा मेलमिलाप विपरीत एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग गर्दै र असफल पार्न खोजेको दाबी पनि गरेका छन्। ‘हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौँ ? फोहोरको रास लगाएर त्यो भित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिउँ । राजनीति त्यस्तो हुदैन । त्यस्तो राजनीतिले कसैलाई अगाडि बढाउँदैन । यसमा हेक्का राखौँ,’ उनले भनेका छन्।

साउन २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्