काठमाडाैँ-भक्तपुरको थिमिस्थित बोडेको नीलबाराही नाच आइतबार रातिदेखि सुरु भएको छ। हरेक वर्ष गाईजात्राको भोलिपल्टको मध्यरातिबाट यो नाच सुरु हुने परम्परा छ।
यो नाचलाई बोडेको प्रख्यात जिब्रो छेड्ने र विस्केट जात्रापछिको ठूलो जात्राका रूपमा लिने गरिन्छ। प्रत्येक टोलको चोकमा धाः बाजा, भुस्याः, काँय र पाँगा बाजाको तालमा परम्परागत नीलबाराही देवीको नाच देखाउने गरिन्छ।
यस नाचमा भैरव १, बाराही ४, कुमारी ४, सिंहिनी ४, व्दारपाल २ र गणेश ४ गरी १९ जना देवी देवताहरू हुन्छन्।
ती देवगणहरूले घरबाट निस्केदेखि खाना खानु र बोल्नु हुँदैन। पानी परे ओतसमेत लाउन हुँदैन।
प्रत्येक देवी देवताको एक-एक वटा सुकुन्दा (बत्ती) लगेको हुन्छ। सुकुन्दा पनि निभ्न दिनुहुँदैन।
यस नाचमा गुरु, देवता, धाँ बाजा, प्वङ्गा बजाउने, सहनाइ बजाउने, भुस्याय छुस्याय् बजाउने, चिराग बत्ती बाल्ने आदि गरी ८९ जना व्यक्तिहरू संलग्न हुन्छन्।