सडक किनारामा फोहोर फाल्नाले सिमकोट बुराउसे सडक दुर्गन्धित

सिमकोट – सडक किनारामा फोहोर फाल्नाले सिमकोटबाट बुराउसे बरगाउँ हुँदै ठेहे जाने सडक दुर्गन्धित भएको छ। हालको डम्पिङ साइट मानिसको बस्ती नजिक भएका कारण स्थानीयको विरोधपछि फोहोर फाल्न नदिँदा सिमकोट बजारको फोहोर उक्त सडक किनारामा पाल्दा दुर्गन्ध बढेको हो।

स्थानीय छक्कबहादुर लामाले ११ भन्दा बढी बस्ती जाने सिमकोट बुराउसे सडकको चिसामूलमा क्षेत्रको सडक किनारामा फोहोर फाल्नाले दुर्गन्ध बढेको जानकारी दिए।

उक्त सडकबाट हाल गाडी सञ्चालन हुँदै आएका छन् भने मानिस पैदल पनि हिँड्ने गर्छन्। सो क्षेत्रको ५० मिटरभन्दा बढी सडक किनारमा फोहोर गाउँपालिकाले ट्र्याक्टरबाट फाल्नाले मानिसलाई आउजाउमा समस्या हुने गरेको छ।

सिमकोट गाउँपालिकाले हाल हप्ताको दुई दिन फोहोर उठाएर उक्त क्षेत्रमा फाल्ने गरेको छ। उक्त सडक हुँदै पशुवस्तु पनि चराउन लाने र मानिस पनि दाउरा घाँस टिप्न जाने गर्छन्। उक्त सडक हुँदै जाने सबैलाई नाक मुख छाेपेर जानुपर्ने बाध्यता छ।

सिमकोट गाउँपालिकाले अन्य कुनै विकल्प नभएपछि गाउँपालिकाले अस्थायी रूपमा फोहोर फाल्नुपर्ने बाध्यता रहेको जनाएको छ।

फोहोरबाट सडक क्षेत्र दुर्गन्धित भएको स्वीकार गर्दै गाउँपालिकाले पहिला फोहोर फाल्ने गरिएको डम्पिङ साइट मानिसको बस्ती नजिक भएका कारण फोहोर फाल्न स्थानीयले नदिएको जनाएको छ। त्यससँगै गत वर्षको बर्खामा पहिरोले उक्त डम्पिङ साइटमा क्षतिसमेत पुर्‍याएको थियो।

सिमकोट बजारमा जनसंख्या दैनिक वृद्धि भइरहेका कारण फोहोर पनि बढी रहेको र त्यसको स्थायी समाधानका लागि गाउँपालिका लागेको छ।

गाउँपालिकाले सम्भावित नयाँ डम्पिङ साइटका लागि क्षेत्र छनोट गर्न ७ नम्बर वडाका अध्यक्ष बलवीर शाहीको संयोजकत्वमा एक समिति गठन गरेको छ।

समितिले सम्भावित क्षेत्रको स्थलगत अध्ययन गरिरहेको र अब चाँडै प्रतिवेदन गाउँपालिकामा पेस गर्ने भएको छ। त्यसपछि डम्पिङ साइटको स्थायी समाधानका लागि गाउँपालिकाले पूर्वाधार निर्माण गरिने जनाएको छ।

साउन ३०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्