बालेनको गुनासोः सत्तारुढ दलकै नेताहरुबाट फोहोर विसर्जनमा अवरोध भयो

काठमाडौँ – काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)ले सत्तारुढका नेताहरुकै अगुवाइमा फोहोर विसर्जनमा अवरोध भएको आरोप लगाएका छन्।

आज पनि फोहोर सहज रुपमा बञ्चरेडाँडा लग्न नसकिएको भन्दै मेयर शाहले सत्तारुढ दलका स्थानीय नेताहरुकै अगुवाइमा सडक अवरुद्ध गरिएको बताएका हुन्। सडक अवरोधमा सत्तारुढ दलका साथै प्रमुख प्रतिपक्षी नेकपा एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि साथ दिएको उनले बताएका छन्।

दुई सयभन्दा बढी प्रहरी परिचालन गरेर फोहोरका गाडी लगिएको उनले बताए। तर, केही व्यक्तिहरुले लुकेर गुलेली हानेर अवरोध सिर्जना गरेको उनले गुनासो गरे। जसका कारण सोमबार २०३ वडा मात्रै फोहोरका गाडी बञ्चरेडाँडा पुर्‍याउन सकिएको उनले बताएका छन्।

बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फोहोर लैजाने कुरा आज पनि सहज भएन। सत्तारुढ दलहरुकै स्थानीय नेताहरुको अगुवाइमा सडक अवरुद्ध गरियो, जसलाई विपक्षी दलहरु एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि साथ दिएको देखियो। यद्यपि २०० भन्दा बढी प्रहरीहरुको परिचालनबाट फोहोरका गाडीहरु बञ्चरे लगियो। तर, केही समूहबाट लुक्दै गुलेली हानेर अवरोध सिर्जना गर्ने प्रयास गरियो। यसैकारण आज २०३ वटा मात्र फोहोरका गाडीहरु बञ्चरे डाँडा लैजान सकियो।’

पछिल्लो केही दिनदेखि देखिएको यो समस्या सतही मात्रै भएको र यसको गहिरो कारण अरु नै भएको उनको भनाइ छ। पोहोर व्यवस्थापनमा पटक–पटक अवरोध हुँदा पनि राज्य संरचना निरीह देखिएको उनले टिप्पणी गरेका छन्।

‘केही दिन र केही समयबाट देखिरहेको समस्या सतही मात्रै हो। यसका गहिरा र अलग्गै कारणहरु छन्। नत्र सोच्नुहोस् त, राज्यले ५ अर्बभन्दा बढी लगानी गरिसकेको, झन्डै २ दशकदेखि योजना बनाएको ठाउँमा फोहोर लैजान यतिका माथापच्ची किन गर्नुपर्छ? २०० भन्दा बढी प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ? पुरै राज्य संरचना यस्तो निरिह किन बन्छ?,’ उनले प्रश्न गरेका छन्।

फोहोर फाल्ने क्रममा सिसडोलमा गरिएको लापरबाहीले उक्त क्षेत्रको दुरावस्था भएकोले स्थानीयले विश्वास नगर्नु स्वभाविक भएको उनको भनाइ छ। तर, अब त्यस्तो नहुने उनको प्रतिवद्धता छ।

उनले अगाडि लेखेका छन्, ‘यहाँ केही कमजोरी, केही गल्ती भएकै छ। सिसडोलमा गरिएको लापरवाही र त्यो क्षेत्रको दुरावस्थाले गर्दा स्थानीयहरुले जोसुकैलाई विश्वास गर्न नसक्नु अस्वभाविक पनि होइन। तर, हामी विश्वस्त पार्न चाहन्छौँ कि विगत दोहोर्‍याएर अपराध गर्ने छैनौँ। यसका लागि केही समय भने पक्कै लाग्छ।’

सिसडोलको वैज्ञानिक व्यवस्थापन र बञ्चरेको दिगो उपयोगिताका लागि महानगर संवेदनशील रहेको र आफूले गरेका सहमतिहरुको पालना गर्ने उनको भनाइ छ। यसमा आफूले सबै पक्षबाट इमानदारिताको अपेक्षा गरेको उनले बताएका छन्।

साउन ३०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्