किसानले नियन्त्रणमा लिएको ४ ट्रक मल छाडियो

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकालाई थप ६ हजार बोरा मल उपलब्ध गराउने सहमतिपछि किसानले नियन्त्रणमा लिएका चार ट्रक मल छाडिएको छ।

महानगर र कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जबीच सोमबार भएको वार्तामा वीरगञ्ज महानगरका किसानको लागि थप ६ हजार बोरा मल उपलब्ध गराउने कृषि सामग्री कम्पनी लिमिटेडले प्रादेशिक कार्यालयले सहमति गरेपछि किसानको कब्जामा रहेको चार ट्रक मल छाडिएको हो। सहमतिअनुसार यसअघि महानगरलाई उपलब्ध गराइएको २७ सय ७१ बोरा मलबाहेक थप ६ हजार बोरा मल यसै हप्ता उपलब्ध गराउने जनाइएको छ।

यस्तै, कोलकाताबाट आउने युरिया मलमध्ये चार हजार बोरा महानगरलाई उपलब्ध गराइने, कृषि सामग्री कम्पनी लिमिटेडले उपलब्ध गराउने मल महानगरको रोहवरमा नयाँ प्रणालीमार्फत किसानलाई उपलब्ध गराउने पनि सहमति भएको छ।

किसानलाई वितरण गरिएको मलको अनुगमन महानगरले गर्नेसमेत सहमति गरिएको छ। सहमतिपछि किसानले नियन्त्रणमा लिएको चार ट्रक मल कम्पनीलाई जिम्मा दिइएको वार्तामा सहभागी कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका प्रमुख चन्द्रप्रसाद चौलागाईंले जानकारी दिए।

आइतबार वीरगञ्ज महानगरका किसानलाई दिइने मलको कोटा वृद्धि गर्नुपर्ने भन्दै कम्पनीको प्रादेशिक कार्यालयमै पुगेर चार ट्रक मल नियन्त्रणमा लिएका थिए।

महानगरका प्रमुख राजेशमान सिंहसँगै गएका किसानले अन्य जिल्लामा लैजान लागिएको मल लोड गरिएको चार वटा ट्रक नियन्त्रणमा लिएका थिए।

 

साउन ३०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्