‘सम्भावित जोखिम न्यूनीकरणका लागि राज्य तयार रहनुपर्छ’

मोरङ – प्राकृतिक विपद्का बेला राज्य सम्भावित जोखिम न्यूनीकरणका लागि तयार रहनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघ प्रदेशका उपाध्यक्ष राजेन्द्र राउतले बताएका छन् ।

महासंघद्वारा विराटनगरमा सोमबार आयोजित विपद्मा व्यावसायिक निरन्तरताबारे अभिमूखीकरण कार्यक्रममा उपाध्यक्ष राउतले राज्यले विपद् पूर्व गर्ने तयारीले जोखिम न्यूनीकरणमा मद्दत पुग्ने बताए।

कार्यक्रममा उपाध्यक्ष राउतले विपद्को समय सरकारसँगै निजी क्षेत्रले समेत आवश्यकताअनुरुप सहयोग गर्दै आएको बताए। उनले सरकारसँगको सम्बन्ध सकारात्मक हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा महासंघका प्रदेश समितिका अध्यक्ष टीकाराज ढकालले विपदका बेला धनजनको बढी क्षति हुने हँुदा जोखिमको पूर्वतयारी र असरको विश्लेषण गर्दै उद्योग व्यवसायी अघि बढ्नुपर्ने बताए।

कार्यक्रममा प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले विपद् आएसँगै भइरहेका व्यवस्था र सन्तुलनलाई समेत असर गर्ने बताए।

उनले प्रदेश १ सरकारले चालु वर्ष विपद्को जोखिम न्यूनीकरण, राहत तथा उद्धारका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए।

त्यसैगरी, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव शिवकुमार कार्कीले विपद्ले मुलुकको अर्थतन्त्रलाई नै असर गर्ने भएकाले उद्योगी व्यवसायी क्षेत्रमा त्यसबारे पर्याप्त ज्ञान र सीप आवश्यक पर्ने बताए।

नेपाल भूकम्पीय जोखिममा विश्वको ११ औं र चट्याङको प्रकोपबाट हुने जोखिमा ५ औं स्थानमा छ। ठूला विपद्का कारण व्यावसायिक क्षेत्र ध्वस्त हुने सम्भावना ४० प्रतिशत हुने र जोखिमको २ वर्षभित्र आवश्यक टेवा दिन नसकिए थप २० प्रतिशत उद्योग व्यवसाय ध्वस्त हुन सक्ने औँल्याइएको थियो ।

साउन ३०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्