सञ्चारमन्त्री कार्की भन्छन्ः नागरिकता विधेयक अध्ययन गरेर अगाडि बढाउँछौँ

फाइल तस्बिर।

काठमाडौँ – सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयक अध्ययन गरेर अघि बढाइने बताएका छन्।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सिट बाँडफाँट कार्यदलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

राष्ट्रपति भण्डारीले आइतबार पुनर्विचारका लागि विधेयक संघीय संसद्‌मा फिर्ता पठाउने निर्णय गरेकी थिइन्।

‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधानबमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा संघीय संसद्‌बाट पुनर्विचार हुन आवश्यक देखिएकाले’ भन्दै राष्ट्रपतिले फिर्ता पठाएकी हुन्।

सोमबार सरकारका प्रवक्ता कार्कीले अब नागरिकता विधेयक अध्ययन गरेर अघि बढाइने बताए।

त्यस्तै सिट बाँडफाँट कार्यदलको आजको बैठकले चाँडोभन्दा चाँडो आफ्नो गृहकार्य पूरा गर्नका निमित्त कामलाई व्यवस्थित रुपले अघि बढाएको जनाएको छ।

मन्त्री कार्कीले सिट बाँडफाँटको मापदण्ड बनाउँदा वि.सं. २०७४ सालको निर्वाचनमा प्राप्त मतहरु, समानुपातिक मत र २०७९ सालमा स्थानीय निर्वाचनमा प्राप्त गरेको मतलाई आधार बनाउने बताए।

उनले नेकपा (एकीकृत समाजवादी) ले २०७४ सालमा निर्वाचनमा प्रतिष्पर्धा नगरेकोले त्यसलाई विशिष्ट रुपमा राख्दै मापदण्ड तय गर्ने बताए। उनले सिट बाँडफँटको टुंगो सकेसम्म आउँदो बुधबारसम्म सक्ने लक्ष्य रहेको बताए। उनले सकेसम्म बाँडफाँट कार्यादलकै बैठकबाट मिलाएर सिटको टुंगोको बारेमा नेतृत्वमा प्रतिवेदन दिने मनशाय रहेको बताए।

उनले भने, ‘हामीले चाँडोभन्दा चाँडो आफ्नो गृहकार्य पूरा गर्नका निमित्त कामलाई व्यवस्थित रुपले अघि बढाएका छौँ। बुधबार ४ बजे फेरि हामी बसेर त्यसपछि केही कुरा म भनौँला। सिट बाँडफाँटको मापदण्ड बनाउँदा वि.सं. २०७४ सालको निर्वाचनमा प्राप्त मतहरु समानुपातिक मत, त्यसपछि वि.सं. २०७९ सालमा स्थानीय निर्वाचनमा प्राप्त गरेको मत एउटा आधार हो। तर, माधव नेपालको पार्टी जो एकीकृत समाजवादी छ, उहाँहरुले त २०७४ सालमा चुनाव लडेको छैन। त्यसलाई विशिष्ट रुपमा राखेर हामी मापदण्ड तय गरेर अघि बढ्नेछौँ। सिट बाँडफाँटको टुंगो चाँडै गर्नुपर्छ। हामीले सकेसम्म हाम्रै तहमा मिलाएर नेतृत्वमा प्रतिवेदन दिने मनशाय छ।’

मन्त्री कार्कीले सरकारले कसैको विरुद्ध पनि गठबन्धन नगरेको भन्दै गठबन्धनमा आउन चाहनेलाई सकारात्मक रुपमा कुरा अघि बढाएको बताए।

साउन ३०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्