साउने सोमबार व्रत समापन, यस्तो देखियो पशुपतिनाथ परिसरमा (फोटो फिचर)

काठमाडौँ – साउनको पहिलो सोमबारदेखि देवादिदेव महादेवको पूजा आराधनासहित व्रत बसेका भक्तजनले सोमबार गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन्।

धेरैजसो भक्तजनले साउनका पाँचवटै सोमबार गरी व्रत समापन गरेका हुन्। पशुपतिनाथ मूल मन्दिर परिसरमा गोदान, पूर्णपात्र गर्न बस्ने ब्राह्मण पुरोहित र व्रतालु भक्तजनको घुइँचो थियो।

विशेष गरी वैदिक सनातन हिन्दू धर्मावलम्बीले साउनको सोमबार नियमित व्रत बस्ने गर्छन्। साउन महिना र सोमबारलाई शिवजीको महिना एवं बार भनी धर्मग्रन्थमा उल्लेख गरेको पाइन्छ। साउनको सोमबार जलधारा मात्र दिए पनि शिवजी प्रसन्न भई इच्छा पूरा गरिदिने, पारिवारिक सुख शान्ति दिने भएकाले सनातन धर्मावलम्बीले विशेष महिनाका रुपमा मनाउने गरेका हुन्।

यसवर्ष साउन २, ९, १६, २३ र ३० गते गरी पाँच सोमबार परेकामा आज अन्तिम सोमबार व्रत विशेष पूजा वा गोदान, पूर्णपात्र गरी विधिपूर्वक समापन गरिएको हो।

साउने सोमबारको व्रत गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त गरिने शिवपुराणलगायत धर्मग्रन्थमा उल्लेख गरिएको छ।

साउन ३०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्