पाँच वर्ष लगाएर बनेकाे पुल प्रयोगविहीन

सिमकोट – पाँच वर्ष लगाएर बल्लतल्ल निर्माण कार्य सम्पन्न भएको झोलुङ्गे पुल प्रयोगविहीन भएको छ।

प्राविधिक दृष्टिले मानिसहरू आऊजाऊ गर्ने उपयुक्त पर्ने स्थानमा पुल निर्माण नभएको कारण प्रयोगविहीन भएको हो।

सिमकोट गाउँपालिकाकाे ३ र ४ को सिमाना बुराउसे खोलामा बनेको झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न भएको एक वर्ष बितेको छ। सिमकोट गाउँपालिका कार्यपालिका सदस्य समेत रहेका गोपाल विकले कोही पनि पैदलयात्रुले उक्त पुल नतर्ने बताए।

तत्कालीन जिल्ला विकास समितिको झोलुङ्गे पुल कार्यक्रमबाट पुल निर्माण भएको हाे।

सो पुल निर्माण गर्न पाँच वर्ष लागेको थियो। पुलसम्म जाने बाटो पनि नभएको र पैदलयात्रुहरूले  पुल तर्नका लागि हालको बाटोबाट उकालो ओरालो हिँड्नुपर्ने भएपछि कोही पनि नजाने गरेका हुन्।

पुल निर्माण भएयता प्राविधिक र निर्माण कम्पनीका मानिसहरूले मात्र उक्त पुल तरेका थिए।

पुल निर्माणका लागि तीस लाख कार्यक्रमबाट बजेट खर्च भएको भए पनि स्थानीय उपभोक्ताबाट जनश्रमदान समेत त्यसमा जोडिएको थियो।

उक्त पुल स्थानीय आवश्यक र उपयुक्त स्थानमा नभएको कारण लगानी बालुवामा पानी खन्याएजस्तै भएको छ। प्रयोगविहीन पुलमा खिया समेत लाग्न थालिसकेको छ। पैदलयात्रुहरू भने दुई सय मिटर टाढाको काठेपुल तर्दै आएका छन्।

भदौ २, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्