अपराध नियन्त्रणका लागि प्रहरीलाई प्रविधिमैत्री बनाउन आवश्यकः आईजीपी सिंह

मोरङ – अपराधिक घटनाक्रम नियन्त्रण र रोकथामका लागि प्रहरीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले जोड दिएका छन्।

विराटनगरमा बिहीबार प्रदेश १ स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा प्रहरी महानिरीक्षक सिंहले पछिल्लो समय अधिकांश अपराधमा प्रविधिको प्रयोग हुँदै आएको बताएका हुन्।

प्रविधिको दुरुपयोग गर्दै अपराधिक घटनाक्रम भएसँगै त्यसको रोकथाम तथा नियन्त्रणका लागि प्रहरी प्रविधिमैत्री हुन आवश्यक रहेकोमा महानिरीक्षक सिंहले जोड दिए।

कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले अपराध अनुसन्धानमा कार्यरत प्रहरी अधिकृतलाई गम्भीर र संवेदनशील भएर कार्यसम्पादन गर्न निर्देशन दिए।

कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले समाजभित्र अपराधिक क्रियाकलापमा परिवर्तन हुँदै आएको बताए। उनले अपराधिक प्रवृत्तिदेखि क्रियाकलापमा परिवर्तन भएसँगै अनुसन्धान अधिकृतको क्षमता विकास र प्रविधिमूलक अपराध खोज हुनुपर्नेमा जोड दिए।

उनले अनुसन्धनमा प्रयोग हुने स्रोत साधनको उचित व्यवस्थापनलाई प्राथमिकतामा राखिनुपर्ने बताए। उनले प्रहरीको उपस्थितिले प्रदेशको सुरक्षा व्यवस्था मजबुद भएको बताए।

त्यसैगरि, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले पछिल्लो समय अपराधिक घटनाक्रमको बदलिँदो अवस्थाका कारण अपराधीहरुको ट्र्याक रेकर्ड पत्ता लगाउनसमेत असहज हुँदै गएको बताए। अपराधिको पहिचान र खोजीका लागि अनुसन्धान प्रविधिमैत्री हुन आवश्यक रहेको उनको भनाइ छ।

कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरीले अपराधिक गतिविधिको सञ्जाल बढ्दै गइरहँदा थप चुनौती बढ्दै गएको बताए। अपराधको प्रकृति र शैली फरक हुँदै गइरहँदा अपराधको अनुसन्धान क्षेत्रमा सबैले दोषीलाई पक्राउ गर्न सहयोग गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कालीप्रसाद पराजुली, उच्च सरकारी वकिल कार्यालय विराटनगरका प्रमुख कोषहरि निरौला, उच्च अदालत विराटनगरका रजिष्ट्रार जितेन्द्रबाबु थपलिया, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललगायतको उपस्थिति थियो।

गोष्ठीमा प्रदेश १ का १४ जिल्ला प्रहरी कार्यालयका प्रमुख र अपराध अनुसन्धान गर्ने ३८ वटा प्रहरी इकाइका अधिकृत सहभागी थिए।

भदौ २, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्