फिनल्याण्डकी प्रधानमन्त्री मरिन किन विवादमा आइन्?

फिनल्याण्डकी प्रधानमन्त्री सना मरिनले निकै आलाेचनाकाे सामना गरिरहेकी छिन्। खासमा उनकाे एक भिडियाे लिक भएकाे छ, जसले गर्दा उनीमाथि अनेकन टिप्पणी गरिएकाे छ।

सनाकाे याे भिडियाे एक पार्टीकाे हाे। भिडियाे फुटेज सामाजिक सञ्जालबाट लिइएकाे बताइएकाे छ। फुटेजमा उनी आफ्ना साथी र केही सेलिब्रेटीकाे साथ नाचिरहेकाे देख्न सकिन्छ।

विपक्षी पार्टीले यस भिडियाेलाई लिएर उनीमाथि टिप्पणी गरिरहेका छन्। विपक्षी दलका एक नेताले उनीमाथि ड्रग्स टेस्ट हुनुपर्ने माग गरेका छन्।

३६ वर्षीया मरिनले पार्टीमा लागुऔषध लिएकाे कुरालाई अस्वीकार गर्दै आएकी छिन्। उनले आफूले अल्काेहल मात्र लिएकाे र निष्फिक्री पार्टी गरेकाे बताएकी छिन्।

सना विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री हुन्। उनले पार्टी गरेकाे कुरा कहिल्यै पनि लुकाएकी छैनिन्। उनले म्युजिक कन्सर्टमा सामेल भएकाे तस्बिर पाेस्ट गर्दै आइरहेकी छिन्।

भिडियाेमाथि टिप्पणी गर्दै उनले भनिन्,’म नाचिरहेकाे थिएँ, गाइरहेकाे थिएँ अनि पार्टी गरिरहेकाे थिएँ। जुन कुरा बिल्कुलै कानुनी हाे। म यस्ताे स्थितिमा परेकाे छैन, जहाँ म मानिसहरू लागुऔषध लिएकाे देखूँ।’

भदौ ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्