राष्ट्रपतिद्वारा ह्यूमन मिल्क बैंककाे उद्घाटन

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालकै पहिलो ‘ह्यूमन मिल्क बैंक’ (अमृत कोष)को उद्घाटन गरेकी छन्।

राष्ट्रपति भण्डारीले शुक्रबार थापाथलि स्थित परोपकार प्रसूती तथा स्त्री रोग अस्पतालको ६३ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको एक कार्यक्रमका बिच बैंकको उद्घाटन गरेकी हुन्।

कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले बालबालिका मैत्री स्वास्थ्य प्रणाली सुनिश्चित गर्नुका निम्ति यो एक महत्वपूर्ण कदम रहेको बताएकी छन्।

‘‘ह्यूमन मिल्क बैंक’ अमृत कोषको स्थापनाले एतिहासिक थालनिको सुरु गरेको छ’, उनले भनिन्।

बैंकले समय नपुगि जन्मिएका, कम तौल भएका र अन्य जोखिममा रहेका शिशुहरूलाई सबैभन्दा बढी आवश्यकता परेको बेलामा अरू आमाहरूको दूध उपलब्ध गराउने अस्पतालका निर्देशक प्रा. डा. अमिर बाबु श्रेष्ठले बताए।

‘समय नपुगि जन्मेका र कम तौल भएका शिशुहरुको पर्याप्त मात्रामा शारीरिक तथा मानसिक विकास हुन नसक्ने बढी जोखिम हुन्छ।

उनीहरुको कमजोर स्वास्थ्य अवस्थाका कारण उनीहरुलाई दूध खुवाउन पनि गाह्रो हुन्छ। यस्ता धेरै जस्तो शिशुहरुको सन्दर्भमा प्रत्यक्ष स्तनपान सम्भव हुँदैन’, उनले भने,‘यस्तो अवस्थामा उनीहरुका लागि उत्तम विकल्प भनेको आमाको दुध निकालेर खुवाउनु नै हो। अझ संभव भएसम्म आफ्नै आमाको दूध खुवाउनु पर्छ।’

हरेक वर्ष विश्वभर करिब १ करोड ५० लाख शिशुहरू समय नपुगि जन्मिने गरेका छन्। त्यस्तै नेपालमा करिव ८१ हजार शिशु समय नपुग्दै जन्मिने गरेको निर्देशक श्रेष्ठले बताए।

उनलका अनुसार शिशुहरु जन्मेको पहिलो महिनामा मृत्युको उच्च जोखिममा हुन्छन्। भने समय नपुगि जन्मेका र कम तौल भएका शिशुहरू अझ बढी जोखिममा हुने गरेका छन्।

सन् २०१९ को नेपाल बहुसुचक सर्वेक्षण अनुसार नेपालमा नवजात मृत्यु दर (जन्मेको २८ दिनमा मृत्यु हुनेको संख्या) १६ प्रतिशत रहेको छ।

त्यस्तै, शिशु मृत्यु दर (१ वर्षभन्दा कममा मृत्यु हुनेको संख्या) २५ प्रतिशत र ५ वर्ष मुनिको मृत्यु दर २८ प्रतिशत रहेको सर्वेक्षणमा उल्लेख गरिएको छ।

पूर्ण स्तनपानले विश्वभर हरेक वर्ष ५ वर्ष मुनिको सम्भावित मृत्युलाई १३ प्रतिशतले कम गर्न सक्ने स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताए।

जन्मेको पहिलो घण्टा भित्र गराइने स्तनपानसँगै पूर्ण स्तनपानले विश्वभरिका सबै नवजात शिशुको मृत्युलाई २२ प्रतिशतले घटाउन सक्छ। सन् २०१९ को सर्वेक्षणका अनुसार नेपालमा २ वर्ष मुनिका शिशुहरु मध्ये ४२ प्रतिशतलाई मात्र जन्मेको एक घण्टा भित्र स्तनपान गराइन्छ भने ६ महिना मुनिका ६२ प्रतिशत शिशुहरुलाई पूर्ण स्तनपान गराइने उल्लेख गरिएको छ।

डा. लालले भने, ‘आमाको दूध पोषणको उत्तम स्रोत हो र यसले शिशुको जीवन सुनिश्चित गर्नका साथै स्वस्थ विकासमा मद्दत पुर्याउँछ। आमाको दूधेले शिशुको मस्तिष्कको विकासलाई बलियो बनाउँछ। बच्चा र आमालाई जीवनभर फाइदा गर्छ। आमाको दुधमा अन्य कुनै स्रोतहरूमा नपाइने एन्टिबडीहरू हुन्छन्। त्यसैले जन्मेको पहिलो घण्टामा हुने स्तनपानको प्रारम्भिक जन्मदेखि ६ महिनासम्म पूर्ण स्तनपान र २ वर्षसम्मको स्तनपान गराउने आवश्यक छ।’

आमाको दूध पर्याप्त हुँदैन वा उपलब्ध हुँदैन, नवजात शिशुलाई बट्टाको दूध दिइने गरिन्छ। तर बट्टाको दुध खुवाउँदा त्यस्ता शिशुहरुमा संक्रमण र नेक्रोटाइजिङ इन्टेरोकोलिटिस (आन्द्रासम्बन्धी एक प्रकारको रोग) को जोखिम उच्च हुने डा. लालले बताए।

उनले भने,‘आमाको दूध नआएको खण्डमा बट्टाको दूधको साटो दान गरिएको अरु आमाको दुध खुवाउनु राम्रो हुन्छ।’

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा रहेको ‘ह्युमन मिल्क बैंक’ (अमृत कोष) मा सुत्केरी आमाबाट सुरक्षित रुपमा दान गरिएको दूध संकलन, प्रशोधन, परीक्षण र भण्डारण गरी आवश्यक परेका शिशुहरूलाई उपलब्ध गराइने छ।

यो अमृत कोष नेपाल सरकार, युरोपियन युनियन र युनिसेफको साझेदारीमा स्थापना गरिएको हो।

बहुक्षेत्रीय पोषण योजना कार्यान्वयन गर्न युरोपियन युनियन लामो समयदेखि युनिसेफसँगै नेपाल सरकारको साझेदार संस्थाका रुपमा काम गर्दै आएको छ।

भदौ ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्