चीन र रुसका राष्ट्रपति एक सम्मेलनका लागि बाली जाने

पुटिन र सीले यसअघि दुई देशबीचको सम्बन्धमा कुनै सीमा नरहेको घोषणा गरेका थिए । तस्बिर : रोयटर्स

चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आउँदो नोभेम्बरमा एक सम्मेलनमा सहभागी हुने भएका छन् ।

सी र पुटिन बालीमा हुने जी २० सम्मेलनमा सहभागी हुने तयारीमा रहेको इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

‘सी जिनपिङ आउनु हुनेछ । राष्ट्रपति पुटिनले पनि मलाई आउँछु भन्नु भएको छ’, ब्लुमबर्ग न्यूजसँगको अन्तर्वार्ताको क्रममा विडोडोले भनेका हुन् ।

सम्मेलनमा दुवै नेता सहभागी हुनेबारे औपचारिक पुष्टि भएको यो पहिलोपटक हो। रुसले गएको फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण थालेयता र ताइवानलाई लिएर तनाव उत्कर्षमा पुगेका बेला हुन लागेको यो पहिलो विश्वव्यापी सम्मेलन हो ।

यो सम्मेलनमा सहभागी भएमा चिनियाँ राष्ट्रपति सीले सन् २०२० को जनवरीपछि पहिलोपटक चीन छोड्ने छन्। कोरोना भाइरसको महामारीका कारण सीमा बन्द गरेपछि सी यो वर्षको जुलाई १ मा हङकङ गएका थिए।

नोभेम्बरमा हुने सम्मेलन बहुप्रतिक्षित मानिएको छ, सो सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन पनि सहभागी हुने अपेक्षा छ। तर उनले पुटिनसँग भेट गर्ने छन् वा छैनन् भन्ने स्पष्ट छैन।

तर बाइडेन र सीबीच प्रत्यक्ष वार्ता हुन सक्ने खबरहरु भने आएका छन्। तनावमा रहँदै आएको अमेरिका–चीन सम्बन्ध हालै अमेरिकी सभामुख न्यान्सी पेलोसीले गरेको ताइवान भ्रमणपछि थप तनावमा छ।

भदौ ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्