मानसरोवर कैलाश दर्शनार्थीको सुरक्षा र स्वास्थ्यमा सहयोग गरिने

फाइल तस्बिर

सिमकोट – भदौ ६ गतेबाट नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन गर्न सिमकोट आउने धार्मिक पर्यटकको स्वास्थ्य र सुरक्षामा जिल्लाले सहयोग गर्ने भएको छ।

जिल्लामा शुक्रवार बसेको सर्वपक्षीय बैठकले उक्त सहयोग गर्ने निर्णय गर्दै तत्काल कार्यान्वयन गर्ने जनाएको छ।
जिल्ला प्रशासन कार्यालयको समन्वय र सिमकोट गाउँपालिकाको आयोजनामा सञ्चालन भएको बैठकले यस पटक जिल्लामा आउने मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटकका लागि स्वास्थ्योपचार र सुरक्षा व्यवस्था गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन्। यसका लागि सिमकोट विमानस्थलमा सिमकोट गाउँपालिकाको सहयोगमा स्वास्थ्य सहायत डेस्क स्थापना ६ गतेबाट गरिनेछ भने नाम्खा गाउँपालिकाको सहयोगमा पर्यटकको पहिलो क्याम्प लेकधिंगामा उक्त डेस्क राखिनेछ।

त्यसैगरी, ताक्चीमा स्वास्थ्य सेवा कार्यालयको समन्वयमा चिकित्सकसहितको डेस्क स्थापना गरिनेछ। पर्यटकको सुरक्षाका लागि लेकधिंगा र ताक्चीमा अस्थायी सुरक्षा चौकी स्थापना गरिनेछ।

पर्यटकसँग सुरक्षाकर्मी लाप्चासम्म जाने व्यवस्था पनि मिलाइनेछ। त्यसैगरी, पर्यटक पैदल मार्ग हुँदै सिमकोटबाट लेकधिंगामा गाडीमा जाने भएकाले हिल्सा–सिमकोट सडक आयोजनाले र सेजीमा पूर्वाधार विकास कार्यालयले सडक मर्मत गर्ने भएको छ।

त्यसैगरी, भदौ ५ गते सिमकोट विमानस्थलदेखि बजार क्षेत्रको सरसफाइ गरिनुका साथै ६ गते आउने ५८ जना धार्मिक पर्यटकको टोलीलाई विमानस्थलमा स्वागत गरिने कार्यक्रम छ।

यता, सदगुरुको टोलीलाई भने परम्परागत रुपले स्वागत गरिनेछ। सदगुरु यस पटक मानसरोवर कैलाशको दर्शन गर्न हुम्ला आउने भए पनि मिति भने तय भएको छैन।

यसका लागि लाग्ने खर्च सिमकोट र नाम्खा गाउँपालिकाले व्यहोर्नेछ। सदगुरु अंग्रेजी महिना सेप्टेम्वरमा आउनेछन्। यसपटक एक महिनासम्म सदगुरुसहितको एक हजार चार सय जना पर्यटकले लाप्चाबाट दर्शन गर्नेछन्। भारतीय सदगुरुसहितको टोली तेस्रो पटक हुम्ला आएर मानसरोवर कैलाशको दर्शन गर्दै छ। यसअघि एक पटक हिल्साबाट ताक्लाकोट हुँदै उनले प्रत्यक्ष दर्शन गरेका थिए भने गत वर्ष लाप्चाबाटै गरेका थिए। यो उनको तेस्रो पटकको दर्शन हो। पर्यटक आगमन मिति नजिकै आएका कारण बैठकले यसका लागि सहायक प्रजिअ अनुपम पौडेलको संयोजकत्वमा अनुगमन समिति गठन गरेको छ।

बैठकमा जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्मा, जिल्ला न्यायाधीश दिलप्रसाद सापकोटा, सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीलगायत सहभागी थिए।

भदौ ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्