लागुऔषधसहित दुई जना पक्राउ

सांकेतिक तस्बिर

काठमाडौँ – बाराको निजगढ नगरपालिका–८ बाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय बारा नजिकैबाट शुक्रबार उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडी रहेको पूर्व‍–पश्चिम लोकमार्ग सडक खण्डबाट पथलैयाबाट निजगढ आउँदै गरेको प्रदेश–२–०३–०१३ प ९४४६ नम्बरको स्कुटर चेकजाँच गर्दा निजगढ नगरपालिकाका–९ ठाडोलाईका २४ वर्षीय सुजल लामा र निजगढ नगरपालिका–७ योजनाका ३९ वर्षीय सन्तबहादुर लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

उनीहरूको साथबाट डाइजेपाम, फेनारागन र नेफिन गरी जम्मा २६–२६ थान बरामद गरिएको प्रहरीले जनाएको छ।

भदौ ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्