साझा धारणा तय गर्न कार्यदललाई गठबन्धनका शीर्ष नेताहरुको निर्देशन

काठमाडौँ – सत्ता गठबन्धनले सिट बाँडफाँट कार्यदललाई त्यसबारे साझा धारणा तय गर्न र कार्यजिम्मेवारी पूरा गर्न निर्देशन दिएको छ।

शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले सिट बाँडफाँट कार्यदललाई नै त्यसबारे साझा धारणा तय गरेर आउन निर्देशन दिएका छन्। बैठकमा कार्यदलका संयोजक कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले शीर्ष नेताहरूलाई कार्यदलमा भएको छलफल र प्रगतिबारे जानकारी गराएका थिए। सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा कार्यदलमा भएको छलफलको प्रगति प्रस्तुत भएको र नेताहरुले त्यसबारे धारणा राखेको जानकारी दिए।

‘आजको बैठकमा कार्यदलमा भएको छलफलको निष्कर्षहरू प्रस्तुत भयो। नेताहरुले पनि त्यसबारे धारणा राख्नुभयो,’ कार्कीले भने, ‘नेताहरुले कार्यदलले नै साझा धारणा बनाउन र कार्य जिम्मेवारी पूरा गर्न निर्देशन दिनुभएको छ।’

अब कार्यदलले चाँडो सिट बाँडफाँटको काम पूरा गर्ने उनको भनाइ छ। कार्यदलले गत प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक निर्वाचनको मत परिणाम तथा बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको परिणामको आधारमा सिट बाँडफाँट गरेर अघि बढ्ने मापदण्ड तय गरेको छ। तर सिट संख्याका बारेमा भने कुरा मिलेको छैन।

सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि सिटौला नेतृत्वमा ११ सदस्यीय कार्यदल बनेको छ। कार्यदलमा कांग्रेसबाट नेता सिटौला, महामन्त्री गगन थापा, सञ्चारमन्त्री कार्की, नेकपा माओवादी केन्द्रबाट नेताहरु वर्षमान पुन र देव गुरुङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन्।

भदौ ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्