छ वर्षपछि फोडियो महिला तथा बालबालिका कार्यालय खोटाङकाे ताला

काठमाडाैँ – महिला तथा बालबालिका कार्यालय खोटाङको ताला छ वर्षपछि फोडिएको छ। गाउँपालिका तथा नगरपालिकामा सो कार्यालय गाभिएपछि लगाइएको ताला लगाइएको थियो।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, महिला तथा बालकालिका विभागअन्तर्गतको कार्यालयमा रहेका भौतिक सामग्री तथा उपकरण काम नलाग्ने अवस्थामा भेटिएका छन्।

कार्यालयमा रहेका कम्प्युटर, ल्यापटप, पावर व्याकप, टिभी र काठबाट बनेका टेबल, कुर्सी, दराज काम नलाग्ने भएका हुन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, जिल्ला समन्वय समितिका सदस्य दुर्गाप्रसाद घिमिरे, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश साह, जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि र प्रहरीको रोहबरमा कार्यालयमा रहेका सामग्री थन्क्याइएको छ।

आठकोठे कार्यालयमा दुई कोठामा सामग्री राखेर अन्य कोठालाई ‘आइसोलेशन वार्ड ’निर्माण गर्न लागिएको छ ।

पछिल्लो समय जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि नगरपालिकाले उक्त कार्यालयको भवनलाई आइसोलेशन बनाउने तयारी गरेको छ।

गत साउन २५ गते प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईँको संयोजकत्वमा बसेको जिल्ला कोभिड तथा सङ्कट व्यवस्थापन केन्द्र (डिसीसिएमसी)को बैठकले सो कार्यालयको भवनलाई आइसोलेशन बनाउने निर्णय गरेको थियो।

कोरोनाको सङ्क्रमण बढ्दोरूपमा रहेको र पूर्वतयारी अवस्थामा रहनका लागि आइसोलेशन बनाउन कार्यालयको ताला फोडिएको नगरप्रमुख भट्टराईले जानकारी दिए।

प्रयोगविहीन अवस्थामा रहेको कार्यालयलाई त्यत्तिकै छोड्नुभन्दा आइसोलेशन बनाएर प्रयोगमा ल्याउन ताला तोडिएको जनाइएको छ।

भदौ ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्