सत्तारुढ गठबन्धनको बैठक बिनानिष्कर्ष सकियो

सत्ता गठबन्धनको बैठक। फाइल फोटो।

काठमाडौँ – आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडबारे टुंगो लगाउन बसेको सत्तारुढ गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको छ।

कार्यदल र शिर्ष नेताहरुबीच सो विषयमा टुंगो लगाउने गरी मंगलबार (आज) अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक पनि बिनासहमति टुंगिएको हो।

कार्य दलका संयोजक कृष्णप्रसाद सिटौला अनुपस्थित भएपछि केहीबेर छलफल गरेर बैठक भोलि अपराह्न पाँच बजे बस्ने गरी सकिएको राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले जानकारी दिए।

उनले २०७४ सालको प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचन, हालै सम्पन्न स्थानीय तह निर्वाचन र दलहरुले जित्ने ठाउँलाई समेत आधार बनाएर सिट बाँडफाँड गर्ने विषयमा छलफल भइरहेको र भदौ ९ गते बिहीबारभित्र त्यसलाई टुंगोमा पुर्‍याउने गरी गठबन्धनमा आवद्ध दलका नेताहरुबीच छलफल भइरहेको बताए।

नेता पुरीले भने, ‘आज निष्कर्षमा पुग्न सकिएन। कार्यदलको संयोजक पनि हुनुभएन आज। त्यसले गर्दाखेरी हाम्रो छलफल चाहिँ जारी रह्यो। आज निष्कर्षमा पुग्न सकेन। भोलि फेरि बैठक बस्ने तय भएको छ। भोलि पाँच बजे बैठक छ। त्यसमा छलफल भएर हामी अब टुंग्याउँछौँ। ९ गतेभित्र यसलाई टुंग्याउने प्रयत्न गर्छौं। हामीले त्यसलाई समग्र रुपमा छलफल गरिराखेको छौँ। सिट बाँडफाँडको आधारहरुको विषयमा छलफल भइरहेको छ। गत निर्वाचनको प्रत्येक्षतर्फको एउटा आधार छ। समानुपातिकको अर्को आधार छ। स्थानीय तह निर्वाचनलाई पनि आधार बनाउने कुरा गरिराखेका छौँ। विभिन्न आधारहरुको विषयमा छलफल गरिराखेका छौँ। छलफल सकारात्मक रुपमा अगाडि बढिराखेको छ। भोलि पनि बैठक हुन्छ।’

सत्तारुढ दलहरुले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडका लागि कांग्रेस नेता सिटौला नेतृत्वको कार्यदल बनाएका छन्। तर, कार्यदलका संयोजक सिटौला बिरामी भएका कारण आजको बैठकमा उपस्थित हुन सकेनन्।

भदौ ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्