– माथवर अधिकारी

मुठ्ठी खोलाैँ, स्वतन्त्र बनाैँ र निर्णायक शक्ति बनाैँ

आजको उपभोक्तावादी संसारमा उपभोक्ताको माग पूरा गर्ने उद्देश्यबाट विभिन्न किसिमका दोकान र व्यवसाय खोलिएका छन्। त्यसमध्ये एउटा हो- वन्यजन्तुको अवैध व्यापार। वन्यजन्तुको अवैध व्यापारमा बाँदर पनि पर्छ।

प्रयोगशालादेखि रंगमञ्चसम्म यी बाँदरहरूको प्रयोग हुने गरेको पाइन्छ। यस प्रयोजनका लागि बाँदरलाई ज्यूँदै पक्रनुपर्ने हुन्छ। यी अवैध व्यापारीले विभिन्न तरिकाबाट ज्यूँदै बाँदर समात्ने गर्छन्। एकथरी सिकारीले सजिलो तर अनौठो खालको पासो थाप्ने अभ्यास गरेको पाइन्छ।

उनीहरूले ठूलो गह्राैँ पारदर्शी तर बाँदरको हात मात्र पस्न सक्ने सानो मुख भएको भाँडा बनाउँछन्। त्यो भाँडाभित्र बाँदरलाई मन पर्ने गेडागुडी राखेर जंगलको विभिन्न ठाउँमा बिहानै राखिदिन्छन्। उक्त भाँडाको वरपर उनीहरू बाँदरको आगमनको प्रतीक्षामा बस्छन्।

जब बाँदरले आफूलाई मन परेको खानेकुरा देख्छ तब भाँडोतिर दौडन्छ र छिटो-छिटो हात पसाएर मुठ्ठीभरि खानेकुरा निकाल्ने प्रयास गर्छ। तर, हात अड्कन्छ। ऊ मुठ्ठीभर खानेकुरा बाहिर निकाल्ने कोसिसमा तल्लीन रहन्छ।

मुठ्ठीका कारण हात अड्किरहेको छ भन्ने हेक्का नै रहँदैन। ऊ त्यो मन पर्ने खाने कुरा निकाल्ने प्रयासमा र खानेकुरामै केन्द्रित रहन्छ। उसलाई आफ्नो मुठ्ठीको हेक्का कत्ति पनि रहँदैन। यही मौका छोपेर सिकारीले बाँदरलाई जिउँदै समात्छन् र बाँदरले सदाका लागि आफ्नो स्वतन्त्रता गुमाउँछ, आफ्ना तथा आफ्नो ठाउँ गुमाउँछ। कतिपय अवस्थामा जीवनको आहूति दिन बाध्य हुन्छ। मीठो खाने उत्कट चाहनाले मुठ्ठी नखोल्दा सदाको लागि सिकारीको फन्दामा फस्छ र बाँदरको जीवनका हरेक पक्षको नियन्त्रण सिकारीको हातमा पर्छ।

मानिस पनि बाँदरभन्दा कत्ति फरक देखिँदैन। भौतिक र शारीरिक इच्छामा बाँदरका इच्छा सीमित हुन्छन्। तर, मानिसका इच्छा अनन्त हुन्छन् र एउटा पूरा हुँदाहुँदै अर्को इच्छा प्रकट भइहाल्छ। ऊ आजको मात्र चिन्ता गर्दैन, भोलिको पनि जोहो गर्छ। आफ्नो परिवारको कल्याणमा सीमित हुँदैन, पूरै समाज रूपान्तरण गर्ने आँट गर्छ। त्यसैले विभिन्न सपना देख्छ। आफ्नो, आफ्नो परिवार, समुदाय र समाजको कल्याण र समृद्धिको सपना देख्छ र त्यस उद्देश्यका लागि घुँडा धसेर काम गर्छ। उसमा अथाह उत्साह र विश्वास हुन्छ। यही प्रयोजनका लागि मानिसले विकासको क्रममा विभिन्न संगठनात्मक संरचना र त्यसलाई सञ्चालन गर्ने सिद्धान्त र नियमको विकास गरेका छन्।

देश सञ्चालनको नेतृत्व गर्न विभिन्न प्रयोग पनि भएका छन्। सक्रिय राजतन्त्र, एकतन्त्रीय शासन, कम्युनिजम, लोकतन्त्र, समाजवाद आदि राजनीतिक व्यवस्था प्रयोगमा आएका छन्। नेपालमा पनि राणाशासन, सक्रिय राजतन्त्र, राजासहितको प्रजातन्त्र र गणतन्त्रको प्रयोग भएका छन्।

सक्रिय राजतन्त्र अन्त्यका साथै ०४७ सालदेखि नेपाली मतदाताद्वारा निर्वाचित सरकार प्रमुखले राज्य सञ्चालन गर्ने कार्य सुरु भयो। तत्कालीन सरकार, राजनीतिक दलले देखाएका सुनौलो सुदूरभविष्यको सपनालाई नेपालीले मुठ्ठी बाँधेर त्यस सुखद भविष्यको परिकल्पनामा मस्त भए।

पटक-पटक तिनै नेतालाई सत्तामा पुर्‍याए। बेफिक्री सपनाको मुठ्ठीमा रमाए। तैपनि, त्यो सपना भने पूरा हुन सकेको छैन।

बरु तत्कालीन नेतृत्वले बाँडेको सपनाको मुठ्ठी खोलेका एक समूहले उक्त सपनाबाट ब्युँझन सशस्त्रद्वन्द्वको बारुद गोलाको आवाज प्रयोग गरे।

सपनाबाट ब्युँझेको उक्त समूहले पनि ठूल्ठूला सपना देखाए र त्यही सपनाको मुठ्ठी बाँधेर कुनै परिणामको विचार नगरी नेपालीले नेपालीलाई मार्ने, लुट्ने, घरवारविहीन बनाउने, देशको संरचना भत्काउनेजस्ता विध्वंसमा संलग्न रहे दश वर्षसम्म। तर, जुन सत्ताविरुद्ध लडे तिनैसँगको साँठगाँठमा गणतान्त्रिक राज्यव्यवस्थाको श्रीगणेश भयो। फेरि एक पटक नयाँ सपना मुठ्ठी पारे बडो उत्साह र उमंगसाथ र आजसम्म त्यही मुठ्ठीमा अड्किएको छ हाम्रो सपना- सुखी र समृद्ध नेपाल।

हामी सिकारीको फन्दामा परेको बाँदरजस्तै भएका छाैँ। जीवनका हरेक पक्षको नियन्त्रणको कुँजी उनीहरूको हातमा छ, उनीहरूले हामीलाई कठपुतलीको हैसियतमा पुर्‍याएका छन्। हामी दल र नेताका प्रजा भएका छाैँ।

बहुदलीय लोकतन्त्रको उपयोग गरेको पनि तीन दशकभन्दा बढी भइसकेको छ। राजनीतिक परिवर्तन सुखद सुदूरभविष्यको स्वर्णिम कल्पनासँगै भएका हुन्। पछौटेपन, गरिबी, अन्याय, अभाव, बेरोजगारी आदि बेथितिबाट मुक्त हुने आशा र आकांक्षाको मुठ्ठी बाँधेको पनि ३० वर्ष बितिसक्यो। व्यवस्था परिवर्तन भयो, नेता र उनका आसेपासेको जीवनमा आमूल परिवर्तन आयो। आमजनता भने जातीयता, साम्प्रदायिकता, क्षेत्रीयता, धर्मजस्ता विषयमा विभाजित छन्।

एकअर्काप्रतिको सद्भाव, प्रेम, भाइचाराको भावनामा स्खलन आएको छ। अनि तिनै दल वा नेताका निर्देशनमा एकअर्काको खप्पर फुटाइरहेका छन्।

नेपाली राजनीति यही स्खलित र खण्डित विचारबीच मौलाएको छ। जनता सत्ताको भर्‍याङ भइदिएका छन्। अब त अति भयो, मुठ्ठी फुकालाैँ, स्वतन्त्र होँ, विगतको स्वतन्त्र मूल्यांकन गराैँ र निर्णायक भूमिका निर्वाह गरौँ। आफ्ना लागि नभए पनि भावी पिँढी र यो राष्ट्रका लागि।

भ्रष्टाचारवाद, विचौलियावाद, फरियावाद, लम्पसारवाद, पाखण्डीवादजस्ता बग्रेल्ती बेथिति हटाउने अठोट गरौँ र त्यस्ता दल वा उम्मेदवारलाई बहिष्कार गरौँ जसले

-जातीयता, धर्म, भाषा, भूगोलका आधारमा मतदान गर्न आग्रह गर्छ।

-जातीयता, धर्म, भाषा, क्षेत्रका आधारमा समानुपातिक प्रतिनिधित्व हुनुपर्छ भन्छ। किनकि यसबाट बहुसंख्यक उत्पीडित सीमान्तकृत गरिब वर्गको भन्दा पनि नेताका आसेपासे, कार्यकर्ता, सालासाली, श्रीमती, जेठान, गर्लफ्रेन्ड आदिको प्रतिनिधित्व भयो। यो त चिठ्ठाजस्तै भयो, लाखौँ टिकट किन्नेमध्ये भाग्यमानीलाई परेजस्तै। भाग्यमानी त्यही हुने भयो जो नेताको नजिकको हुन्छ।

-कुस्त मोटो रकम दललाई चन्दा दिएर उम्मेदवारीको टिकट लिन्छन् (जस्तैः ठेकेदार, व्यापारी वा बिचौलिया)।

– भ्रष्टाचार नियन्त्रणका लागि शक्तिशाली, निष्पक्ष र स्रोतसाधन सम्पन्न ‘लोकपाल’ को स्थापनाको वकालत गर्दैनन्।

-मन्त्रीलगायतका लागि मौजुदा ‘अख्तियार अनुसन्धान दुरुपयोग निवारण आयोग’ ले छानबिन गर्न नसक्ने निर्णय गरी मन्त्रीलगायतलाई भ्रष्टाचारसम्बन्धी अनुसन्धान वा मुद्दा चलाउन नसक्ने संस्थागत व्यवस्था गरे र त्यस्ता निर्णयका हिमायतीहरू।

– व्यापारी, उद्योगपति वा बिचौलियालाई धनी बनाउन नीतिगत बिचलन ल्याउन पदीय अधिकारको दुरुपयोग गरे।

– जघन्य अपराधलाई बढावा दिन्छ र स्वयंको फौजदारी मुद्दा अदालतमा विचाराधीन छ।

-नैतिकता र आचरणको सार्वजनिक जीवनमा धज्जी उडाएको छ र सार्वजनिक रूपमा उसको आचरणबारे प्रश्न उठेका छन्।

-भ्रष्टाचारमा संलग्न भई अकुत सम्पत्ति आर्जन गरेको छ।

-चुनावताका गाउँ, टोलमा लठेतहरूको समूह लिएर पैसा, बल र पदको दुरुपयोग गरी चुनाव जित्ने हतकण्डा अपनाउँछ।

– राष्ट्रको प्राकृतिक स्रोत-साधनलाई कौडीको भाउमा स्थानीय वा विदेशीलाई दोहन गर्न दिन्छ।

लोकतन्त्रमा जनता जनार्दन नै निर्णायक शक्ति हुन्। त्यसैले चुनावताका सबै नेता (शीर्षस्थ नेताको गुथरी लगाएका) जनताका अगाडि याचकका रूपमा प्रस्तुत हुन्छन्।

मतदाता आफ्नो शक्तिप्रति फुरुङ्ग हुन्छ। यही परिस्थितिलाई बुझेर दलका नेता, उम्मेदवारहरू मतदातालाई फुक्राउन र आश्वासनका पुल बडो संयमता र सुझबुझसाथ प्रस्तुत गर्छन्। जनताले जे सुन्न चाहन्छन्, मन पराउँछन् त्यही विषय उठान गर्छन्, गलत होस् वा सही।

जे लगाउँछन् त्यही लगाउँछन्। जे खान्छन् त्यही खाइदिन्छन्। जसलाई जस्तो राज्य चाहिन्छ त्यही पुर्‍याइदिने वाचा गर्छन्। झुटो आश्वासनका पुल अनन्त रूपमा बाँडिरहन्छन्। तर, त्यस्ता झुटा वा भ्रमपूर्ण कथनप्रति आम जनता जागरुक नभएको कारण उनीहरू मतदातालाई झुक्याउन सफल भएका छन्।

हामी एउटा ऐतिहासिक निर्णयको बिन्दुमा छौँ जहाँबाट समृद्धि वा अधोगतिको बाटोले निरन्तरता पाउँछ।

त्यसैले विगतको अनुभव र विवेक प्रयोग गरौँ। त्यसैले प्रत्येक उम्मेदवारको पृष्ठभूमिबारे जानकारी लिएर जागरुक हौँ।

बहुरूपी भ्रष्ट बुढा नेता जसले तीन दशकदेखि सत्तामा एक वा अर्को रूपमा रहेर सत्ताको दुरुपयोग गरेर देश र जनतालाई ठगे तिनलाई ठेगान लगाउने मौका यही निर्वाचन हो।

त्यसैले आफ्नो स्वतन्त्र अभिमत प्रकट गराैँ कुनै पूर्वाग्रहबिना, वस्तुगत तथ्यका आधारमा। राजनीतिक सिकारीले फैलाएको जालबाट मुक्त भएर नयाँ जोश, जाँगर भएका दाग नलागेका योग्य युवालाई देशको भाग्य कोर्ने अभिभारा दिने पुनित पर्वका रूपमा आसन्न निर्वाचनलाई प्रयोग गराैँ। र, जनता जनार्दन नै निर्णायक शक्ति हो भन्ने फेरि पनि पुष्टि गरौँ।

भदौ ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्