अग्निपथ योजनाअनुसार भारतीय सेनामा गोर्खा भर्ती नेपालले किन रोक्यो?

काठमाडाैँ- नेपालले अग्निपथ योजनाअन्तर्गत भारतीय सेनामा गोर्खा भर्ती तत्कालका लागि स्थगित गरेको छ। अग्निपथ योजनामा नेपालकाे चासो र चिन्ता तथा दुई देशबीचका सेनाबीच रहँदै आएको ऐतिहासिक सहकार्यमा हालको सामाजिक-आर्थिक प्रभावबारे प्रकाश पार्ने प्रयास गरेका छौँ।

नेपालले गोर्खा भर्ती रोक्ने निर्णय किन लियो?

नेपाल सरकारका अनुसार अग्निपथ योजनालाई सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सन्धिले समेट्दैन ।

अग्निपथ योजनाका सम्बन्धमा सबै राजनीतिक दलबीच छलफल गरी सर्वसहमतिमा निर्णय लिइनु पर्ने सरकारको भनाइ छ। त्यसैकारण नेपाल सरकारले भारतीय सेनालाई अगस्ट २५ देखि सुरु हुने तय भएको भर्ना प्रक्रिया सुरु नगर्न भनेको हो।

त्रिपक्षीय सन्धि के हो?

नेपाल सरकार, भारत र बेलायतबीच सन् १९४७ मा भारतीय सेनामा सेवारत गोर्खा सैनिकको भविष्यलाई लिएर सहमति भएको थियो।  सो सन्धिअनुसार गोर्खा सैनिकका चार रेजिमेन्ट-दोस्रो, छैटौँ, सातौँ र दशौँलाई बेलायती सैनिकमा सरुवा गर्ने तथा बाँकी रहेका पहिलो, तेस्रो, चौथो, पाँचौँ, आठाैँ र नवौँ रेजिमेन्ट भारतीय सैनिकमा रहने भए। स्वतन्त्रतालगत्तै भारतले एघारौँ गोर्खा राइफल्स रेजिमेन्ट स्थापना गरेको थियो।

सन्धिले नेपाली युवाको भारतीय सैनिकमा भर्तिको मार्ग तथा अवकाशपछिको सेवासुविधा तथा पेन्सनको पनि व्यवस्था गरेको छ। रोचक ऐतिहासिक तथ्य यो पनि हो कि पाकिस्तानले स्वतन्त्रताको समय तथा चीनले सन् १९६२ को युद्धलगत्तै आफ्नो सेनामा गोर्खा सैनिक भर्तीका लागि नेपालसँग आग्रह गरेका थिए र नेपाल सरकारले त्यसलाई अस्वीकार गरेको थियो।

गोर्खा सैनिकको ठूलो संख्या भारतीय सेनामा छ। बेलायतमा गोर्खा सैनिकको उपस्थिति चार रेजिमेन्टबाट दुईमा झारिएको छ, हाल त्यहाँ वान रोयल गुर्खा राइफल्स र टू रोयल गुर्खा राइफल्स कायम छ। बेलायती सेनाले भर्ती भएका नेपाली सैनिकलाई गुर्खा भन्ने गरेको छ।

के नेपाली गोर्खाहरु विदेशी भाडाका सैनिक हुन्?

होइनन्। सन् १९४९ को जेनेभा कन्भेन्सन अनुसार सार्वभौम सेनामा सेवा गर्ने सैनिकहरू भाडाका सैनिक होइनन्। यस्तै, नेपाली गोर्खा सैनिकले भारतमै जन्मिहुर्केका गोर्खा सैनिकसँग साथमा काम गर्ने गरेका छन्।

समयक्रममा गोर्खा सैनिकको भर्ती कसरी परिवर्तन हुँदै आयो?

भारतीय सैनिकको गोर्खा रेजिमेन्टका लागि नेपालमाथिको निर्भरता कम गर्ने प्रयास भए। सन् २०१६ मा भारतीय गोर्खा बटालियन खडा गरियो। सो युनिट पहिलो गोर्खा राइफल्सको छैटौँ बटालियन हो, यसलाई हिमाञ्चलाको शुबथुमा विकास गरिएको हो।

गोर्खा बटालियनमा नेपाली तथा भारतीय गोर्खाको अनुपात ६०ः४० देखि ७०ः३० रहने गरेको छ। भविष्यमा यो परिवर्तन हुन सक्ने छ। हालै भर्ती नियममा गरिएको परिवर्तन अनुसार उत्तराखण्डको गुमाउ र गढवाल क्षेत्रका युवा पनि गोर्खा राइफल्समा भर्तीका लागि योग्य भएका छन्।

भारतीय सेनामा खोर्गा सैनिकको सेवा नेपालका लागि कति महत्त्वपूर्ण छ?

भारतीय सैनिकमा कार्यरतले पठाउने रकम (विप्रेषण) सबैभन्दा ठूलो सामाजिक-आर्थिक प्रभाव हो। सन् २०२० मा प्रकाशित भएको त्रिभुवन विश्वविद्यालयका रत्नमणि नेपालको अनुसन्धान ‘गोर्खा भती, विप्रेषण र विकास’ मा विदेशी सेनामा सेवा गर्ने गोर्खाले पठाएको विप्रेषण गाउँको सामाजिक आधुनिकीकरणका लागि महत्त्वपूर्ण देखिएको उल्लेख छ। त्यसले क्षेत्रीय विकासमा पनि सहयोग गरेको सो अनुसन्धान पत्रमा उल्लेख गरिएको छ।

(यो सामग्री द इन्डियन एक्सप्रेसबाट साभार गरिएको हो ।)

भदौ ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्