एसिया कप टी–२० क्रिकेटः टस जितेर पहिले बलिङ गर्दै भारत

काठमाडौँ – एसिया कप टी–२० क्रिकेटमा बहुप्रतिक्षित मानिएको भारत र पाकिस्तानबीचको खेलमा भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

युएईको दुबईमा भएको टसमा भारतीय कप्तान रोहित शर्माले टस जितेका थिए। यसअघि यी दुई टिमबीच २४ अक्टोबर २०२१ मा टी–२० विश्वकपका दौरान प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा पाकिस्तानले भारतलाई १० विकेटले पराजित गरेको थियो।

एसिया कपमा भने पाकिस्तानले भारतविरुद्ध २०१४ पछि कुनै पनि खेलमा जित निकालेको छैन। पाकिस्तानले २०१६ र २०१८ को एसिया कपमा भारतसँग पराजित भएको थियो।

समग्र एसिया कपमा भारत र पाकिस्तानबीच भएका १४ खेलमा ८ खेलमा भारत र ५ खेलमा पाकिस्तानले जित हासिल गरेको छ। एक खेल वर्षाका कारण स्थगित भएको छ।

एसिया कपमा भारत अहिलेसम्म ७ पटक च्याम्पियन बन्दा ३ पटक उपविजेता बनेको छ। पाकिस्तानले ३ पटक उपाधि जितेको छ।

२००८ पछि दुबै टिम अहिलेसम्म ८ पटक आमनेसामने भएका छन्। हरेक पटक जुन टिमले लक्ष्य पछ्याएको छ, उसले जितेको अनौठो रेकर्डसमेत रहेको छ। त्यसैले आजको खेलमा टसको भूमिकालाई पनि महत्त्वका साथ हेरिएको छ।

भदौ १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्