कोहलपुरमा बसपार्कको अतिक्रमण हटाउन खोज्दा तनाव

नेपालगञ्ज – बाँकेको कोहलपुरमा बसपार्कमा भएको अतिक्रमण हटाउन खोज्दा दिनभरी तनाव भएको छ।

मेयर पूर्णप्रसाद आचार्य आफै डोजर लिएर अतिक्रमण हटाउन पुग्दा स्थानीयले चर्को विरोध गरेपछि तनाव भएको हो।

न्यूरोडमा रहेका केही अतिक्रमण हटाएपछि टोली बसपार्क पुगेको थियो। बसपार्कमा पुग्नेबित्तिकै स्थानीयले डोजरमा ढुंगा हान्न सुरु गरेपछि झडपको स्थिति बनेको हो।

मेयर आचार्य बसपार्कमै बसिरहेपछि टहरा सञ्चालकहरु तीजको गीत गाएर नाचिरहेका थिए। ठूलो संख्यामा रहेको प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको थियो।

बसपार्कमा रहेका ७५ वटा टहरा भत्काउन मेयर आचार्यले अभियान थालेपछि अरु पार्टीले साथ नदिएको बुझिएको छ। मेयर आचार्यले प्रहरी प्रशासनले सहयोग नगर्दा अतिक्रमण हटाउन गाह्रो भएको प्रतिक्रिया दिए।

बसपार्कमा रहेको अतिक्रमण हटाउन अदालतले पनि आदेश दिइसकेको छ।

भदौ १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्