कस्मेटिक सर्जरी सुन्दरताका लागि मात्र हाेइन (भिडियो)

शरीर सुन्दर देखाउन प्लास्टिक सर्जरी गर्नेकाे संख्या नेपालमा पनि बढ्दाे क्रममा छ। तर प्लास्टिक, कस्मेटिक तथा ह्याण्ड सर्जन डा. कृष्ण मानन्धर याे सर्जरीले सुन्दर देखिने मात्र हाेइन, अप्रत्यक्ष रुपमा स्वास्थ्यमा पनि फाइदा पुर्‍याउने बताउँछन्। प्लास्टिक सर्जरी किन गर्ने ? यसका फाइदा वा बेफाइदा के छन् ? यसै विषयमा रहेर एब्सोल्युट एस्थेटिकका सर्जन डाक्टर कृष्ण मानन्धरसँग गरिएकाे कुराकानी:

१. कस्मेटिक सर्जरी भनेको के हो?

यो यस्तो सर्जरी हो जसको उद्देश्य मान्छेलाई अलि राम्रो र आकर्षक बनाउने हुन्छ। सामान्य भाषामा मान्छेलाई सुन्दर बनाउने उपाय हो कस्मेटिक सर्जरी। हाम्रो शरीरमा त्यस्ता धेरै समस्या हुन सक्छन जसको समाधान कस्मेटिक सर्जरीले गर्न सक्छ । तर तपाईँले राम्रोसँग बुझ्नुपर्छ, सर्जरी किन गर्ने ?

२. कस्ताकस्ता समस्या कस्मेटिक सर्जरीबाट समाधान गर्न सकिन्छ?

हाम्रो अनुहारमा धेरै समस्या हुन सक्छन् । आँखाको वरिपरि मुजा परेको हुन्छ । परेलाको मासु झुण्डिएको हुनसक्छ । आँखाको वरिपरि मासु धेरै हुनसक्छ वा झुण्डिएको हुनसक्छ । अनुहारको मासु चाउरी परेको हुन्छ वा झुण्डिएको हुन्छ । महिलाको स्तन ठूलो हुन्छ जसले उहाँहरुले दैनिकीमा समस्या भइरहेको हुन्छ । कसैको पेट ठूलो हुन्छ जसले दैनिकिमा समस्या भइरहेको हुन्छ । यस्ता समस्याहरु कस्मेटिक सर्जरीद्वारा समाधान गर्न सकिन्छ जनु हामीले गर्दै आएका छौँ ।

३. यो सुरक्षित हुन्छ ?

जुनै सर्जरी गर्दा पनि त्यसको केही न केही साइड इफेक्ट हुनसक्छ । तर कुनै पनि समस्या नहुनेगरी अपरेसन गर्ने तरिका हामीसँग छन् । हाम्री उपचार पूर्व विरामीको बारेमा सम्पुर्ण जानकारी लिन्छौँ । उहाँको दैनिकी, व्यवहार, खानेकुराहरुको आदत तथा सम्पूर्ण टेस्टहरु गछौँ । हामीले उपचार गर्नेहरुका लागि एउटा फर्म बनाएका छौँ जसमा यी सबैकुराहरु उहाँले आफै भर्नुपर्छ ।

हामी सर्जरी दिनको एउटामात्र गछौँ । ताकि सर्जरीपछि विरामीको हेरचाह राम्रोसँग गर्न सकियोस्। अपरेसनपछि हाम्रो पूरा ध्यान पोष्ट अपरेसन केयर (अपरेसनपछिको हेरचाह) मा हुन्छ। सर्जरीपछि विरामीले राम्रो महसुस गरेपछि मात्र हामी घर पठाउँछौँ। जस्तै मेरो कुरा गर्नुहुन्छ भने म सर्जरी गर्नुपूर्व सम्पुर्ण कुराहरु सुन्छु । बिरामीको मनमा उब्जेका हरेक प्रश्नको उत्तर दिने प्रयास गर्छु । उपचारको विधि जानकारी गराउँछु । अपरेसनपछि केही समस्या आउन सक्छन् । त्यसलाई समस्या भन्न मिल्दैन । ती समस्या केही छिन अथवा केही दिनसम्म रहन्छन्। आत्तिनु पर्दैन।

४. यो सर्जरी गर्न मिल्ने वा नमिल्ने केही अवस्था हुनसक्छ ?

हुन्छ । मानौँ कोही ५० वर्ष उमेरको मान्छे तौल घटाउनका लागि आउनु भयो । तौल घटाउन हामीले ‘लाइपो सक्सन’ गर्नुपर्ने हुन्छ । यो भनेको पेटमा सानो प्वाल बनाएर पाइपको माध्यमबाट बोसो तान्ने प्रक्रिया हो । हामी उहाँको बारेमा सबैकुरा जानकारी लिन्छौ । उहाँमा अरु कुनै रोग छ जसले अपरेसनमा अप्ठेरो पार्छ भने हामी उपचारमा जाँदैनौँ ।

जस्तो सुगरको मात्र बढी छ वा ब्लड प्रेसर बढी छ भने त्यो कन्ट्रोल नभएसम्म हामी अपरेसनमा जाँदैनौ । त्यो नर्मल गराउन अरु कुनै डक्टरको पठाउँछौँ । त्यो स्थिर भएपछि मात्र हामी उपचारको प्रक्रियामा जान्छौँ । जसका लागि हामीलाई दुई तीन हप्ता पनि लाग्न सक्छ ।

त्यस्तै कोही चुरोट रक्सी पिउनु हुन्छ भने मेरो सुझाव कम्तीमा दुईहप्ता अगाडि छोडेर आउनु पर्छ । त्यो छोड्न नसक्नेलाई हामी उपचार गर्न सक्दैनौँ । यो सुरक्षाका लागि हो । रक्सी, चुरोट पिउने मान्छेलाई अपरेसनपछि समस्या आउन सक्छ । अनुहारमा निलोपन आउनसक्छ ।

५. नेपालमा यो उपचार लिने बढ्दै गएका हुन्?

वास्तवमा कुनै कुनै समस्याको समाधान प्लास्टिक सर्जरी हो भन्ने कमैलाई थाहा छ । जस्तै पहिला हामीलाई थाहा थिएन, मोटोपनाको समस्या लाइपो सक्सनबाट समाधान हुन्छ भनेर । हामीले सिक्यौँ र त्यसबारेमा जानकारी दिइरहेका छौँ । प्लास्टिक सर्जरीको माध्यमबाट सुन्दर भइन्छ भन्ने जानकारी धेरैले पाउनु भएको छ । यो उपचार लिने बढ्दै हुनुहुन्छ तर धेरै डराइरहनु भएको छ ।

६. यो सर्जरीले स्वस्थ रहन कसरी सहयोग गर्छ ?

यो सर्जरीले मान्छेलाई स्वस्थ रहन अप्रत्यक्ष रुपमा सहयोग गर्छ । यो उपचारपछि कोही मान्छेलाइ सकारात्मक उर्जा दिनसक्छ । मान्छे ‘मोटिभेट’ हुनसक्छ । मान्छे मोटिभेट भएन भने सधै कमजोर रहन्छ । मानौँ कोही मोटोपना भएको व्यक्तिलाई हामीले ‘लाइपो सक्सन’ गरेर घर पठायौँ । त्यसपछि उहाँले कसरत, खाने कुरा तथा आफ्नो दैनिकीमा ख्याल गर्नुहुन्छ जसले उहाँलाई स्वस्थ रहन मद्धत गर्छ ।

त्यस्तै अनुहारको सर्जरी गरेर कोही सुन्दर देखियो भने उसमा आत्मविश्वास बढ्न सक्छ । र, ऊ आफ्नो काममा सधैँ सकारात्मक रहन सक्छ । यसरी कस्मेटिक सर्जरीले मानिसको स्वास्थ्यामा अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउन सक्छ।

भदौ १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्