सेतोकण्ठे गरुडका लागि ७२ जिल्लाका कम्तीमा केही भाग गुँड तथा प्रजननका लागि उपयुक्त

सिमलको रुखको माथिल्लो भागमा लगाएको गुँडमा हुर्किँदै गरेको चल्लाका साथमा सेतोकण्ठे गरुड । यो तस्बिर अध्ययनको क्रममा प्युठानमा खिचिएको हो । प्युठानसहितका मध्यपहाडी जिल्लामा सेतोकण्ठे गरुडका गुँड तुलनात्मक रुपमा बढी भेटिएका छन् । तस्बिर : विवेक बेलबासे

काठमाडौँ – संकटको नजिक रहेको सेतोकण्ठे गरुडका लागि नेपालका ७२ जिल्लाका कम्तीमा केही भाग गुँड बनाउन तथा बच्चा हुर्काउनका लागि उपयुक्त रहेको एक अध्ययनले देखाएको छ।

अमेरिकाको ओहायोस्थित केन्ट स्टेट विश्वविद्यालयमा विद्यावारिधि गर्दै गरेका अनुसन्धानकर्ता प्रशान्त घिमिरेको नेतृत्वमा भएको नेपालमा सेतोकण्डे गरुडलाई गुँड बनाउनका लागि उपयुक्त स्थान तथा प्रजननसम्बन्धी अध्ययन प्रतिवेदन हालै प्रकाशित भएको छ।

अर्निथोलोजी रिसर्च जर्नलमा प्रकाशित भएको अध्ययन प्रतिवेदन अनुसार हिमाली जिल्ला मनाङसहित ७२ जिल्लाका कम्तीमा केही क्षेत्र एसियन वूलीनेक भनिने ठूलो प्रजातिको चराको बासस्थान तथा बच्चा कोरल्नका लागि उपयुक्त पाइएको हो।

‘वातावरणीय तत्वहरूको विश्लेषण गर्दा देशभरको १४ हजार २२८ वर्ग किलोमिटर अर्थात् कुल भूभागको ९.६४ प्रतिशत क्षेत्र लोभीपापी गरुडका रूपमा समेत चिनिने सेतोकण्ठे गरुडले गुँड बनाउन तथा चल्ला हुर्काउन सक्ने आँकलन गरेका छौँ’, चराको इकोलोजी तथा इभोलुसनरी बायोलोजीमा विद्यावारिधि गर्दै गरेका अनुसन्धानकर्ता घिमिरेले भने, ‘विशेषगरी मध्य तथा पश्चिम तराई र मध्य पहाडमा बढी गुँड भेटिएका छन्।’

एसियन वूलीनेक चराको नाम नेपालीमा ‘नेपालका चराहरू’ नामक पछिल्लो पुस्तकमा लोभीपापी नभइ सेतोकण्ठे गरुड राखिएको थियाे।

ताप्लेजुङ, संखुवासभा, मुस्ताङ, सोलुखुम्बु, डोल्पामा भने सेतोकण्ठे गरुडका लागि गुँड बनाउन वा बच्चा हुर्काउनका लागि उपयुक्त स्थान नदेखिएको अनुसन्धानबाट खुलेको छ। यो चरा आइयुसिएनको सूचीमा ‘संकटको नजिक’ वर्गमा छ

सन् २०१६ देखि २०२० सम्म गुँडहरूको खोजी तथा अवलोकन गरी उपयुक्त बासस्थान आँकलन तथा प्रजननबारे आँकलन गरिएको प्रमुख अनुसन्धानकर्ता घिमिरेले बताए।

‘हामीले चराविद्, फोटोग्राफर, स्थानीय बासिन्दाको सहयोगमा गुँडको पहिचान गरेर यो अध्ययन गरेका हौँ। यसले गुँड बनाउन उपयुक्त स्थानबारे यकिन चित्र नदिए पनि आँकलन गर्न सकिने आधार दिएको छ’, उनले भने।

कहाँ कस्तो स्थानमा भेटिए गुँड?

बस्ती आसपासका कम भिरालो तथा खेतीबाली भएका क्षेत्रका ठूला रुख सेतोकण्ठे गरुडले गुँड बनाउनका लागि रोज्ने गरेको छ। सिन्धुपाल्चोकमा खिचिएको यो तस्बिरमा बाली लगाइएको गह्रामा चारो खोज्दै गरेको अवस्थामा सेतोकण्ठे गरुड देखिएका छन्। तस्बिर : विवेक बेलबासे

पाँच वर्ष लगाएर गरिएको अध्ययनको क्रममा १८ जिल्लामा ३९ गुँड भेटिएका छन्। गुँड पाइएकामध्ये १० जिल्लामध्य पहाड र ८ जिल्ला तराई रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

अनुसन्धानको नेतृत्व गरेका घिमिरेले भने, ‘अरू प्रजातिका गरुणले एउटै रुखमा धेरै गुँड लगाउने हुँदा देखिन्छ। तर सेतोकण्डे गरुडले एक्लै गुँड लगाउने हुँदा हामीलाई लामो समय लाग्यो। अध्ययनको क्रममा विशेष गरेर मध्य र पश्चिमका तराई तथा मध्य पहाडमा गुँड भेट्टायौँ।’

ठूलो प्रजातिको चरामा पर्ने सेतोकण्ठे गुँड बनाउनका लागि अग्ला रुखको माथिल्लाे क्षेत्र रोज्ने गरेको पाइएको छ।

‘औषतमा ३० मिटर अग्लो रुखको लगभग २५ मिटर जति उचाइमा गुँड बनाएको पायौँ’, घिमिरेले भने, ‘अर्थात् रुखको टुप्पोभन्दा केही तल हाँगाको ओत लाग्ने गरी झिँजा, पात पतिंगर बटुलेर सेतोकण्ठे गरुडले गुँड बनाउने गरेको देखियो।’

अर्घाखाँची, प्युठानसहितका मध्यपहाडी जिल्लामा सेतोकण्ठे गरुडका बढी गुँड भेटिएका छन्। यो नक्सामा गुँड पाइएका क्षेत्रलाई रातो थोप्लाले जनाइएको छ। तस्बिर स्रोत : अध्ययन प्रतिवेदन

गुँड बनाउनका लागि सिमलसहितका ठूलो आकारका ९ प्रजातिका रुख यो चराले रोज्ने गरेको छ। अध्ययनअनुसार फेला परेका गुँडमध्ये आधाभन्दा बढी अर्थात् हेर्दा २१ वटा गुँड सिमलको रुखमा पाइएका हुन्। यस्तै, सातलको रुखमा ६ तथा सल्लाको रुखमा चारवडा गुँड भेटिएका छन्। अरू गुँडहरू आँप, पिपल, जामुनसहितका अग्ला-ठूला रुखमा पाइनुले सेतोकण्डे गरुडका लागि कम्तीमा नेपालमा गुँड बनाउनका लागि ठूला रुखको माथिल्लो भाग रोज्ने गरेको देखिएको अध्यता घिमिरेकाे भनाइ छ।

तर, भारतमा सन् २००४ मा भएको अध्ययनमा औषतमा रुखको ९ मिटरको उचाइमा गुँड बनाउने गरेको उल्लेख थियाे।

‘भारतमा भएको सो अध्ययन संरक्षित क्षेत्र भित्र थियो’, घिमिरेले भने, ‘हाम्रो अध्ययन अधिकांश रूपमा संरक्षित क्षेत्रभन्दा बाहिर भएकाले फरक परेको हुन सक्छ।’

नेपालमा पाइएका ३९ मध्ये तीनवटा गुँडमात्रै संरक्षित क्षेत्र भित्र थिए। ‘नजिकै बस्ती तथा खेतीपाती भएका क्षेत्रका अग्ला रुख यो चराले गुँड बनाउनका लागि प्रयोग गरेको पायौँ’, घिमिरेले भने।

‘वातावरणीय तत्वहरूको विश्लेषण गरेर हेर्दा कम भिरालो भएका स्थान, खेतीबाली भएका र बस्तीको नजिकका ठूला रुखमा गुँड लगाउने देखिएको छ’, अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘यस्तै सुख्खा यामको पानी पर्ने समयमा कम्तीमा चार मिलिमिटर पानी परेपछि वा त्यसआसपासको बखत राम्रो रहेको अनुमान गर्न सकिन्छ ।’

ठूला रुखको टुप्पोभन्दा तलको भागमा गुँड लगाउँदा बाज, चिलसहितबाट बच्चा जोगाउन सकिने तथा पानी परेर माटो ओसिलो भएका बेला खेतबारीमा गड्यौला, भ्यागुता (चेपागाँडा), सर्पसहितका आहारा प्रजाति पाइने भएकाले सो समय रोज्ने गरेको हुनसक्ने उल्लेख छ।

आफूहरूको अध्ययन सीमित भए पनि त्यसका आधारमा सेतोकण्ठे गरुडको संरक्षणका लागि ठूला रुखको संरक्षण तथा बस्ती नजिकका खेतबारीको भूमिका महत्त्वपूर्ण हुने देखिएको चराविद तथा अध्ययनमा संलग्न भएका कृष्ण भुसालले बताए। उनले भने, ‘गिद्धसहितका ठूला चरा जस्तै सेतोकण्ठे गरुडका लागि सिमलसहितका ठूला रुखको महत्त्व थप स्पष्ट भएको छ।’

तराई र पहाडमा भिन्दै समयमा प्रजनन्

 

परम्परागत रूपमा विशेष गरी तराईका फाँट र त्यस आसपासका क्षेत्रमा सेतोकण्ठे गरुड पाइने गरेको थियो। आफ्नो अध्ययन र अनुसन्धानलाई चरामै केन्द्रित गरेका अनुसन्धानकर्ता घिमिरेका अनुसार अहिले अध्ययन गरिएको सेतोकण्ठे गरुड उनले हुर्किँदै गर्दा आफ्नो बस्ती (रुपन्देहीको कञ्चन गाउँपालिका-२ मटेरिया गाउँ) का फाँट क्षेत्रमा गाइवस्तु चराउन जाँदा देख्ने गरेका थिए।

तर, उनकै नेतृत्वमा हाल भएको अध्ययनले तराईसँगै हिमालको काखमुनिका मध्य पहाडी क्षेत्र यो चराका लागि उपयुक्त बासस्थानका रूपमा देखिएको हो।

‘पूर्वकाे तुलनामा मध्य तथा पश्चिमका मध्यपहाडी जिल्लामा गुँडको संख्या धेरै पायौँ ’, उनले भने।

स्थानअनुसार प्रजनन् समय पनि फरक रहने गरेको छ। तराईका जिल्लामा गर्मीयाम र पहाडमा जाडोयाममा गुँड बनाउने र प्रजनन् गर्ने गरेका छन्।

‘मध्य पहाडमा डिसेम्बर (मंसिर-पुस) मा प्रजनन् सुरु गरेर जुन (जेठ-असार) सम्ममा बच्चा हुर्काउँछन्’, प्रतिवेदनमा भनिएको छ, ‘तराईका जिल्लामा मार्च (फागुन-चैत) मा सुरु गरेर बर्खायाम हुँदै नोभेम्बर (कात्तिक-मंसिर) मा बच्चा हुर्काइसक्ने गरेको पाइयो।’

दुवै क्षेत्रमा प्रजननकाे केही अवधि बर्खायाममा पर्छ। भारतमा भएको अध्ययनमा पनि उत्तरी क्षेत्रमा डिसेम्बर तथा दक्षिणमा मार्चमा सेतोकण्ठे गरुडले प्रजनन् गर्ने पाइएको अनुसन्धाता घिमिरेले बताए।

सेतोकण्ठे गरुड परम्परागत रूपमा तराईका जिल्लामा बढी मात्रामा पाइने भए पनि हाल मनाङसम्म पनि पुगेको अभिलेख छ। यो तस्बिर रुपन्देही जिल्लामा खिचिएको अनुसन्धानकर्ता प्रशान्त घिमिरेले जानकारी दिएका छन्।

आफूहरूले पाएकामध्ये १९ गुँडमा चल्ला कति हुर्काउँछ? भनेर समेत हेरेको उनले जानकारी दिए।

‘भारतमाभन्दा नेपालमा प्रतिगुँड चल्ला कम कोरलेको पायौँ। हामीले अध्ययन गरेका गुँडमा औषतमा २.४ चल्ला कोरलेको पाइयो’, घिमिरेले भने, ‘भारतमा प्रतिगुँड ३.१ चल्ला कोरलेको पाइनुले नेपालभन्दा भारत राम्रो बासस्थान हो कि भन्ने आँकलन गरियो। तर त्यसका लागि विस्तृत अध्ययनको खाँचो छ।’

तुलनात्मक रूपमा तराईभन्दा मध्य पहाडमा बढी र मनाङसम्म सेतोकण्ठे गरुड पाइनुले यो चरा खोलैखाेलको बाटो हुँदै माथिल्लो क्षेत्रमा सर्दै गएको त होइन भन्ने लागेको अनुसन्धानकर्ता घिमिरेले बताए। तर, त्यसका लागि अनुगमन मात्रै नभएर जलवायु, मौसमी गतिविधि, रुखहरूको उपलब्धतासहितलाई ध्यानमा राखेर विस्तृत वैज्ञानिक अध्ययन आवश्यक छ।

‘पछिल्लो समयमा भएका सबै अध्ययनहरूले हिमाली तथा पहाडी क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव तुलनात्मक रूपमा चाँडो र सघन पर्ने भनेका छन्’, घिमिरेले भने, ‘यदि सेतोकण्ठेसहितका चरा माथिल्लो क्षेत्रमा सर्दै गएका हुन् भने उनीहरूले कसरी परिवर्तित परिवशेमा अनुकूलन गरिरहेका छन् भन्नका लागि पनि लामो समय लगाएर विस्तारित अध्ययन गर्नुपर्छ।’

हालकै प्रवृत्ति हेर्दा यी चराको संरक्षणका लागि सिमलसहितका रुख जोगाउने, खेतीबालीमा प्रयोग हुने विषादीलाई नियन्त्रित गर्नेसहितका उपायहरू आवश्यक रहेको अध्ययनकर्ताले बताएका छन्।

भदौ १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्