एसिया कपः हङकङविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै भारत

काठमाडौँ – एसिया कप टी–२० क्रिकेटमा भारतविरुद्ध हङकङले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। दुबईमा जारी खेलमा भारत पहिलो ब्याटिङ गर्दै लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहँदा हङकङ भने भारतलाई पराजित गर्ने लक्ष्यमा रहेको छ। हङकङले एसिया कप छनोटमा आफ्ना सबै तीन खेलमा जित निकाल्दै एसिया कपमा स्थान बनाएको थियो।

भारतले भने समूह चरणको पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेकाले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल पुग्ने दोस्रो टिम बन्न चाहन्छ। अहिलेसम्म एसिया कपमा भारत र हङकङ तेस्रो पटक प्रतिस्पर्धा गर्न लागेका हुन्। यसअघि २००८ मा भएको पहिलो भिडन्तमा ५० ओभरमा भारतले ३७४ रन बनाएको थियो।

धोनी र रैनाले शतक प्रहार गरेको खेलमा हङकङ भने १ सय १८ रनमा अलआउट हुन पुगेको थियो। भारतले उक्त खेल २५६ रनको फराकिलो अन्तरले जितेको थियो।

त्यसपछि २०१८ मा एसिया कपको समूह ‘ए’मा दुबै टिम पुनः एकपटक एकदिवसीय खेलमा नै भिडेका थिए। उक्त खेलमा भारतका लागि शिखर धवनले १ सय २७ रनको शतकीय इनिङ खेल्दै हङकङविरुद्ध २ सय ८५ रनको स्कोर बनाएका थिए।

हङकङले पनि उत्कृष्ट प्रदर्शन गर्दै ८ विकेट गुमाएर २ सय ५९ रन बनाउँदा उक्त खेलमा २६ रनले पराजित भएको थियो। टी–२० एसिया कपमा भने पहिलो पटक एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्न लागेका हुन्।

भदौ १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्