गोर्खा भर्तीबारे नेपाल थप स्पष्ट हुन खोजेको हो: राजदूत शर्मा

फाइल फोटो।

काठमाडौँ – भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले भारतीय सेनामा गोर्खा भर्तीसम्बन्धी नयाँ योजनाबारे नेपाल थप स्पष्ट हुन चाहेको बताएका छन्।

भारतीय टेलिभिजन डब्लुआइओएनलाई दिएको अन्तर्वार्तामा राजदूत शर्माले गोर्खा भर्तीका सम्बन्धमा सन् १९४७ मा भएको त्रिपक्षीय सन्धिले हालको अग्निपथ स्कीमलाई नसमेट्ने भएकाले नेपाल सरकारले यस सम्बन्धमा थप स्पष्ट हुन चाहेकाले तत्कालका लागि भर्ती स्थगन गरेको हुनसक्ने बताएका हुन्।

भारत सरकारले अग्निपथ योजनाअन्तर्गत नै गोर्खा भर्तीका लागि आग्रह गरे पनि नेपालले तत्कालका लागि भर्ती रोक्ने निर्णय गरेको थियो।

अग्निपथलाई लिएर सर्वपक्षीय राजनीतिक सहमतिको खाँचो रहेको र त्यसका लागि विस्तारित छलफलका लागि समय चाहिने परराष्ट्रमन्त्री नारायण खड्काले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई केही दिन पहिले जानकारी गराएका थिए।

अग्निपथ योजनाबारे राम्रोसँग बुझेपछि तथा नेपालमा यसको प्रभावबारे स्पष्ट भएपछि हालको अवरोध अन्त्य हुने विश्वास राजदूत शर्माले गरेका छन्। निकट भविष्यमा हुन लागेको भारतीय सेना प्रमुखको नेपाल भ्रमणमा अग्निपथ योजनाबारे छलफल हुन सक्ने उनले बताए।

भदौ १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्