आमनिर्वाचनमा पनि चम्किएला लौरो?

काठमाडौँ– केही दिनअघि काठमाडौँमा आयोजित एक राजनीतिक समारोहमा लौरो टेकेर सहभागी हुन पुगेका बृद्धले ‘यो मेरो चुनाव चिन्ह हैन, सहाराको लागि टेकेको हुँ भन्दै कार्यक्रमस्थलमा प्रवेश गरे।

स्थानीय तहको निर्वाचनमा केही स्वतन्त्र उम्मेदवार लौरो चुनाव चिन्ह लिएर विजयी भएपछि लौरो अन्य प्रयोजनको लागि नभई चुनाव चिन्ह मात्रै हो कि भन्ने आम जनमानसमा परेको छ।

यो छाप अरु कोही नभई काठमाडौँ महानगरका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर हर्क साम्पाङले पारेका हुन्।

स्वतन्त्र उम्मेदवारको रुपमा उनीहरुले लौरो चुनाव चिन्ह लिएर निर्वाचनमा होमिँदा हजारौँले यसलाई समर्थन गरे। सार्वजनिक स्थानमा भाषण, राजनीतिक गफगाफ, गीत तथा साहित्यमा लौरोको एक्कासी चर्चा हुन थाल्यो।

स्थानीय तहको निर्वाचनमा चुनाव आउनुभन्दा १३ दिन अघि निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह बाँड्दा बालेन, हर्क तथा अन्य केही स्वतन्त्र उम्मेदवारको भागमा लौरो चुनाव चिन्ह परेको थियो।

निर्वाचनको मुखैमा चुनाव चिन्ह पाएपछि लौरो लिएर प्रचारमा हिँडेका बालेन, हर्क तथा अन्य स्वतन्त्र उम्मेदवारका कारण लौरोको चर्चा र आकर्षण ह्वात्तै बढेको हो।

हर्क र बालेनलाई लौरो फलिफाप भए पनि अन्यलाई भने शुभ हुन सकेन। काठमाडौँ र धरानको लौरो चम्किँदै गर्दा पोखरा महानगरको मेयरमा स्वतन्त्र उठेका गणेश पौडेलको लौरो भने नमज्जाले सुकेको थियो।

आसन्न संघ र प्रदेशको निर्वाचनमा फेरि लौरोको आकर्षण बढेको छ।

स्वतन्त्र उम्मेदवाहरुले संघ र प्रदेशको निर्वाचनमा पनि लौरो चुनाव चिन्ह लिएर चुनावमा होमिने औपचारिक निर्णय गरेका छन्।

स्थानीय तहको निर्वाचनपछि संघ र प्रदेशको निर्वाचनमा पनि लौरो चुनाव चिन्ह लिएर उठ्ने स्वतन्त्र उम्मेदवारहरुले चाहना राख्दै आएका थिए।

लामो छलफलपछि उनीहरु औपचारिक निर्णयमा पुगेका हुन्।

बिषेशगरी काठमाडौँ महानगरका मेयर बालेन शाह र धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ राईले लौरो चिन्हबाट चुनाव जितेपछि नै यो चिन्हमा आकर्षण बढेको हो।

बालेन र हर्कको कार्यशैलीको प्रशंसा, आलोचना जे जे भएपनि अन्तत लौरोको उभार आएको हो। बिहीबार मात्रै सात जना स्वतन्त्र उम्मेदवारले प्रतिनिधिसभामा र ४ जना उम्मेदवारले प्रदेशसभामा उम्मेदवारी दिने घोषणा गरेका छन्।

स्वतन्त्र उम्मेदवारहरुको निर्णय अनुसारै उनीहरु सबैको चुनाव चिन्ह लौरो नै हुने भएको छ। आज केही व्यक्तिले मात्रै उम्मेदवारी घोषणा गरेको र चुनावसम्म संघ र प्रदेशको सबै निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार उठाउने स्वतन्त्र उम्मेदवारका संयोजक डम्बर साहुले बताए।

स्वतन्त्र उम्मेदवारहरुको निर्णय अनुसारै उनीहरु सबैको चुनाव चिन्ह लौरो नै हुने भएको छ। आज केही व्यक्तिले मात्रै उम्मेदवारी घोषणा गरेको र चुनावसम्म संघ र प्रदेशको सबै निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार उठाउने स्वतन्त्र उम्मेदवारका संयोजक डम्बर साहुले बताए।

संयोजक साहुका अनुसार रवि लामिछानेको स्वतन्त्र पार्टी लगायत अन्य साना राजनीतिक दलसँग चुनावी तालमेल गरेर जाने समेत स्वतन्त्र उम्मेदवारको तयारी छ।

यसो हुँदा लौरो चिन्हको थप प्रचार हुने देखिएको छ।

साहुले देश सञ्चारसँग भने–‘स्थानीय तहको निर्वाचनमा जितेका स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह लौरो भएको कारण यो प्रति आकर्षण बढेको हो।’

भक्तपुर क्षेत्र नम्बर दुई बाट संघीय चुनावको उम्मेदार बन्ने घोषणा गरेका ‘दह्रो स्तम्भ लोकेन्द्र’ले लौरो चिन्हबाट चुनाव जितेर संसदमा पुग्ने र जनताको इच्छा अनुसार काम गर्न नपाए आत्मादाह गर्ने बताएका छन्।

उनले भने, ‘राजनीतिक दलको तर्फबाट प्रतिनिधित्व गर्दै संसदमा पुग्दा काम गर्न पाइदैन भन्ने सुनिन्छ, म स्वतन्त्र लडेर विजयी हुन चाहन्छु, जनताको काम गर्न चाहन्छु मौका दिनुस्।’

ललितपुर –३ बाट चुनावमा उठ्ने घोषणा गरेका राजाराम तन्डुकारले स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवारलाई जिताउन हिडेको र अहिले आफूले चुनाव जित्ने विश्वाश व्यक्त गरे।

भाषा, संस्कृति र पहिचान जोगाउने आन्दोलनमा सहभागी हुँदै जनताको सेवा गर्ने बाटोमा अघि बढेको उनको भनाइ छ।

उनले भने– ‘ठूला कुरा जनताले सुन्दा सुन्दा थाकेका छन्, अनिवार्य आवश्यकता पुर्तिका बिषयमा संसद मार्फत आवाज उठाउनेछु। यो लौरो चुनाव चिन्हले दिएको साहस हो।’

स्वतन्त्र उम्मेदवारहरुको सञ्जालले आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभातर्फ ७ जना उम्मेदवार उठाउने घोषणा गरेको छ।

बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी उनीहरुले साझा चुनाव चिह्न ‘लौरो’ र घोषणापत्र सार्वजनिक गरेका हुन्। काठमाडौँ– ८ बाट सुमन सायमी, काठमाडौँ–९ बाट विद्या श्रेष्ठ महर्जन, रुपन्देही–५ बाट भिष्म राना, रौतहट–१ बाट राहुल मिश्रा, काठमाडौँ–५ बाट मधुसुदन पाठक (सितेबा), ललितपुर–३ बाट राजाराम तन्डुकार र भक्तपुर–२ बाट ‘दह्रो स्तम्भ लोकेन्द्र’ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेका हुन्। सिरिष गुरुङले कास्की–२ बाट चुनाव लड्ने घोषणा गर्ने तयारी गरेपनि उनी बिहीबारको औपचारिक कार्यक्रममा भने सहभागी भइनन्।

साझा चुनाव चिह्न र घोषणापत्र सार्वजनिक गर्न उनीहरुले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ नामक कार्यक्रम आयोजना गरेका हुन्।

साथै प्रदेश सभातर्फ पनि ४ जनाले उम्मेदवारी घोषणा गरेका छन्। आगामी दिनमा अन्य उम्मेदवारहरु पनि विस्तारै थपिँदै जाने अभियानको दाबी छ।

स्वतन्त्र उम्मेदवारहरू ‘वैकल्पिक शक्तिको लौरो अभियान’ कार्यक्रमका संयोजक सुमन सायमी हुन्। सायमी गत वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरको मेयरमा पराजित भएका थिए भने विद्या श्रेष्ठ उपमेयरमा पराजित भएकी थिइन्।

स्थानीय तहको निर्वाचनमा पराजय भएपनि सायमी काठमाडौँ क्षेत्र नम्बर ८ र श्रेष्ठ ९ बाट संघीय चुनावमा लड्ने घोषणा गरेका छन्।

भदौ १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्