प्रदेश १ को नामकरण हुन नसकेको भन्दै प्रदर्शन

मोरङ – प्रदेश १ को प्रदेश सभा बैठक चलिरहँदा सचिवालयबाहिर भने प्रदेशको नामकरण हुन नसकेको भन्दै प्रदर्शन गरिएको छ।

विराटनगरस्थित प्रदेश सभा भवनबाहिर विभिन्न दलका नेता–कार्यकर्ता तथा सर्वसाधारणले प्रदेशको नामकरण हुन नसकेकोमा विरोध गरेका थिए।

उक्त क्रममा बहुलराष्ट्रिय समाजवादी पार्टी नेपालका अध्यक्ष किशोरकुमार विश्वासले प्रदेशको नाम नाराखीकन स्थगन गर्न नहुने बताएका थिए।

बिहानैबाट भवनबाहिर एकीकृत भएका सबै थारू समुदायका सर्वसाधारणले प्रदेशको नाम नराखी दलका नेताहरू आफ्नो जिम्मेवारीबाट पन्छिन नमिल्ने बताए।

त्यसैगरी, थरुहट कोचिला संयुक्त संघर्ष समितिका कार्यकर्ताले नामकरणको माग गर्दै जुलुस निकालेपछि सचिवालयअगाडि सभा आयोजना गरेका थिए।

उनीहरूले भवनबाहिर प्रदर्शन गरिरहँदा सदन चलिरहेको थियो। प्रदेश १ को नाम पहिचानको आधारमा थरुहट–कोचिला हुनुपर्ने उनीहरूको माग थियो।

सभामा संघर्ष समितिका देवनारायण विश्वासले प्रदेशको नाम नराखी जान नैतिक रूपमा सांसदहरूलाई अधिकार नभएको बताएका थिए।

उक्त क्रममा उनले अन्य प्रदेशले नाम राखिसकेको अवस्थामा प्रदेश १ नामविहीन हुनु अति नै लज्जास्पद भएको उल्लेख गरे।

 

भदौ १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्