आजबाट संसद आउन्न, चुनावपछि भत्ता खान नैतिकताले दिएन : लिङ्देन

फाइल तस्बिर

काठमाडौँ – राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबारदेखि संसदमा उपस्थित नहुने घोषणा गरेका छन्।

आइतबार संसदलाई सम्बोधन गर्दै लिङ्देनले चुनावपछि पनि संसद कामय राख्ने अनैतिक काममा सहभागी नहुने भन्दै अब संसद बैठकमा नआउने घोषण गरेका हुन्।

उनले सांसदका रुपमा आफ्नो सेवा सुविधा रोक्न पनि माग गरे। उनले संसदमा भने, ‘अब म भत्ता पकाउन मात्रै संसदमा आउदिन। संसदको आयु मंसिर ४ गतेपछि पनि कायम राख्ने भन्ने निर्णय प्रक्रिया सुरु भएको छ। यसले मलाई लज्जित र दुखित बनाएको छ।’

उनले बाटोबाटै संसद छाड्नुभन्दा पनि औपचारिक ठाउँबाट भन्नु उपयुक्त हुने बताए। सांसद बापदको सुविधान नलिने पनि उनले घोषणा गरे। उनले भने, ‘बाटोबाटै जानुभन्दा यहीँ भनेर जानु उपयुक्त हुन्छ भनेर आएको हँु। आजबाट मैंले सांसदका रुपमा पाउने सुविधा लिन्न। यस प्रकारको अनैतिक माग गर्न मेरो अन्तरआत्मले दिएन।’

सरकारले संसदको कार्यकाल चुनावपछि पनि कायम राख्ने गरी कानुन संशोधन विधेयक संसदमा दर्ता गरेको छ। अर्को संसदको पहिलो बैठक बसेको दिनदेखि संसदको कार्यकाल सकिने प्रावधान राखेर सरकारले विधेयक ल्याएको छ।

नेमकिपाका सांसद प्रेम सुवालले पनि चुनाव घोषणासँगै संसदको कार्यकाल सकिनुपर्ने बताए। उनले संसद नचलाउन आग्रह गरे।

भदौ १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्