अग्निपथ योजना र गोर्खा भर्तीको अन्यौल, भारतीय सेनाप्रमुखको परम्परा अघि बढाउने भ्रमण

भारती सेनाप्रमुख पाण्डेलाई आज मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेना प्रमुख जनरल मनोज पाण्डे आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा। उनी नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा पाँचदिने औपचारिक भ्रमणका लागि विशेष विमान मार्फत अपराहन्न काठमाडौँ आइपुगेका हुन् । तस्बिर: सुलभ श्रेष्ठ

काठमाडौँ – नेपाल भ्रमणमा रहेका भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डेलाई सोमबार नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदै छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्न ३ बजे शीतल निवासमा पाण्डेलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने छिन्। त्यसलगत्तै राष्ट्रपति र भारतीय सेना प्रमुख पाण्डेबीच शिष्टाचार भेटवार्ता हुने राष्ट्रपति कार्यालयका प्रवक्ता उपसचिव सागर आचार्यले जानकारी दिएका छन्।

नेपाल-भारतका सेनाबीच विगत ७२ वर्षदेखि एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा छ।

त्यसकै लागि  सेना प्रमुख पाण्डे नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा पाण्डे आइतबार पाँच दिने औपचारिक भ्रमणका लागि काठमाडौँ आएका हुन्। उनी सोमबार बिहानैदेखि औपचारिक कार्यक्रममा सहभागी हुने तयारी छ।

शीतल निवासको औपचारिक कार्यक्रम अघि पाण्डे सैनिक मुख्यालय पुगेर वृक्षारोपण गर्ने छन्। उनलाई त्यहाँ गार्डअफ अनरसँगै ब्रिफिङ पनि गरिने छ।

पाण्डेले भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई ‘माइन प्रोटेक्टिभ’ सवारीसँगै केही स्वास्थ्य सामग्री र घोडा हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।

जंगीअड्डामा पाण्डेले प्रधानसेनापति शर्मासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको नेपाली सेनाका सूचना अधिकारी सहायक रथी नारायण सिलवालले जानकारी दिएका छन्। प्रधानसेनापति शर्माले सोमबार राति नै पाण्डेको सम्मानमा रात्रिभोजको आयोजनासमेत गर्ने छन्।

मंगलबार भारतीय सेना प्रमुख पाण्डे माउन्टेन फ्लाइटमा नाम्चे जाने कार्यक्रम छ। तर यसलाई मौसमी अनुकूलताले निर्धारण गर्ने छ। यस्तै, उनले कमाण्ड एण्ड स्टाफ कलेजको भ्रमण गर्ने छन्। मंगलबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने तयारी छ।

भारतीय सेना प्रमुख पाण्डे बुधबार मौसम अनुकूल भएमा मुक्तिनाथ दर्शनका लागि मुस्ताङ जाने र फर्किँदा कास्कीस्थित मध्यकमाण्डको निरीक्षण गर्ने छन्।

भारतीय सेनामा गोर्खा रेजिमेन्ट अन्तर्गत नेपाली युवाको भर्ती सन् १९४७ मा भएको त्रिपक्षीय सन्धि अन्तर्गत हुँदै आएको छ।  तर अग्निपथ योजनासँगै तत्कालका लागि भर्ती प्रक्रिया रोकिएको छ।

यसैबीच नेपाल सरकारले भारतीय सेनामा नेपाली युवा अर्थात् गोर्खा भर्तीलाई लिएर थप स्पष्ट हुन चाहेको समयमा पाण्डेको भ्रमण भइरहेको हो। भारतले ल्याएको नयाँ अग्निपथ योजना अन्तर्गतको भर्ती प्रक्रियालाई सन् १९४७ मा नेपाल भारत र बेलायतबीच भएको त्रिपक्षीय सन्धिले नसमेट्ने भन्दै नेपालले हाललाई गोर्खा भर्ती स्थगन गरेको छ।

नयाँ स्कीम अनुसारको भर्ती प्रक्रियाले गोर्खा सैनिक र नेपालमा त्यसको कस्तो प्रभाव पर्छ भन्नेबारे थप स्पष्ट हुन पर्ने भएकाले समय चाहिएको नेपालले जनाएको छ। यस्तै, राजनीतिक सहमति पनि चाहिने भन्दै थप छलफल गर्नु पर्ने परराष्ट्र मन्त्रालयले भारतीय राजदूत नवीन श्रीवास्तवमार्फत् जानकारी गराएको थियो।

तर हप्तादिन पहिले भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भारतीय सेनामा गोर्खा सैनिकको भर्ती अग्निपथ योजना अनुसार नै हुने बताएका थिए। नेपालले योजनाबारे थप स्पष्ट हुन चाहेको र भारतले सोही योजना अनुसार नै भर्ती गर्ने बताइरहेका बेला भएको पाण्डेको भ्रमणलाई त्यससँग जोडिएका विषयमा छलफल हुने मौकाका रूपमा हेरिएको छ।

केही दिनअघि भारतीय सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्ताको क्रममा भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले पाण्डेको नेपाल भ्रमणका बेला अग्निपथ योजना अन्तर्गत गोर्खा भर्तीबारे छलफल हुन सक्ने बताएका थिए।

भारतीय सञ्चारमाध्यमहरुले पनि यो भ्रमणको क्रममा अग्निपथ योजनाअन्तर्गत गोर्खा भर्तीमा देखिएको अन्यौल हटाउने बारे छलफल हुन सक्ने उल्लेख गरेका छन्।

भारतले अग्निपथ योजना र त्यसअन्तर्गत गोर्खा भर्तीबारे कुनै परामर्श नगरी सहजताका लागि आग्रह गरेको थियो।

भदौ २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्