काठमाडाैँ – इन्द्रजात्रा पर्व बुधबारदेखि सुरु हुँदैछ।

काठमाडाैँकाे वसन्तपुरस्थित हनुमानढोका दरबार अगाडि भक्तपुरबाट ल्याइएको लिंगो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ।

बुधबार बिहान सवा ७ बजेको शुभ साइतमा लिंगो ठड्याइनेछ।

भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ। लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ। शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो।

इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई लिइन्छ। इन्द्रजात्राको अवसरमा सरकारले शुक्रबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएकाे छ।

जात्राभरि लाखेनाच, महाकाली नाच, दशावतार र देवताका राजा इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ।

जात्राकाे तयारी वसन्तपुरमा धुमधामसँग भइरहेकाे छ। जसलाई देश सञ्चारकर्मी सुलभ श्रेष्ठले क्यामेरामा उतार्न खाेजेका छन्।

तस्बिरहरू :