काठमाडौँ- काठमाडौँ महानगरपालिकाले असन क्षेत्रका फुटपाथको व्यापार हटाएको छ।
यसअघि नै सडकमा राखिएको सामग्री हटाउन र अवैध संरचना हटाउन महानगरले आग्रह गरेको थियो। महानगरको आग्रहलाई बेवास्ता गर्दै सडकमा राखिएका केही सामग्री महानगर प्रहरीले उठाएको हाे।
इन्द्रचोक क्षेत्रमा अव्यवस्थित रूपमा सञ्चालनमा भइरहेका पार्किङ, मन्दिर वरिपरिको व्यवसाय हटाइरहेको महानगरले आजदेखि फुटपाथमा राखिएका पसलहरू पनि हटाउन सुरु गरेको हो।
काठमाडौँ महानगरको नगर प्रहरी प्रमुख राजु पाण्डेसहितको टोलीले आजबाट इन्द्रचोकदेखि असन क्षेत्रको फुटपाथ खाली गराउन थालेको महानगरले जनाएकाे छ।
असन क्षेत्रमा फुटपाथमा राखिएको खेलौना पसल, फेन्सीका सामान, माटाका सामग्री, भाँडाकुँडा, क्रिष्टलका सामग्रीहरू भोलि बिहानसम्म हटाउन निर्देशन दिएको महानगरले जनाएकाे हाे।
सडकमा कुनै पनि सामग्री नराख्न र अवैध संरचना भत्काउन पनि महानगरले निर्देशन दिएको छ।