याङ्की लामा अब सम्झनामा मात्र

सिमकोट – मान्छेले सुन्दा पत्यार नमान्लान्। यस्तो पनि कहीँ हुन सक्ला र भनेर। तर, कुरा यथार्थ र वास्तविक हो। आजभन्दा २५ वर्षअगाडि पाँच सय रुपैयाँबाट होटल (मम पकाउने काम) सञ्चालन गर्दै आएकी सिमकोट गाउँपालिका– ५ की याङ्की लामाको परिवारले राम्रो सम्पत्ति जोड्न सफल भएको थियो। तर, मंगलवार दिउँसो तिनै याङ्की कलिलै उमेरमा यस भर्तीबाट विलय भएकी छन्।

अब केवल सम्झना मात्र हुनेछ। सायद याङ्कीलाई यस्तो खाउँला र लाउँलाको उमेर यसरी विलय होलिन् भनेर कसैले सोचेका पनि थिएन। जे नहुुनुपर्ने थियो, त्यो भएरै छाड्यो। अझ हुम्लाका लागि राम्रा मान्छेको खोजी जता पनि हुन्छ भन्ने गाउँघरको भनाइ उनका लागि सावित भएको छ।

जहिल्यै हँसिलो अनुुहारबाट उनको सेवा सुरु हुुन्थ्यो होटलमा। त्यसपछि के लिनुुहुन्छ भनेर मीठो बोलीबाट थप जानकारी लिने उनको बानी थियो। तर, उनको त्यो सेवा अब सम्झनामा सीमित हुन पुगेको छ।

होटल भन्नेबित्तिकै उनका श्रीमान् विजय लामाको नाम मात्र भन्छन् मानिसहरू। त्यो एकातिर स्वाभाविक होला। तर, याङ्कीले हालसम्मको अवधिसम्म होटलमा भाँडा माझ्ने, परिकार बनाउने र वेटरको काम पनि आफैँ गर्थिन्। त्यो कुरा पर्दापछाडि सधैँ रहिरह्यो।

तीन वर्षअगाडि यो पंक्तिकारले होटलबारे रिपोर्टिङका लागि कुुरा गर्दा आफू यो अवस्थासम्म पुुग्न गरेका दुुःखलाई सम्झेर बताउँदै आँसुुसमेत खसालेकी थिइन्।

उनी भन्ने गर्थिन् जिन्दगीमा धेरै दुःख, कष्ट झेलेर यो अवस्थामा पुुगिएको हो तर मान्छेले नानाथरी कुरा गर्छन्।

बाहिरका मानिसले के भनुुन् उनलाई मतलबै थिएन। उनी आफ्नै लयमा होटलमै लागिरहिन्। होटल व्यवसाय उनको परिवारलाई फाप्यो पनि। अहिले हुम्लामै राम्रो होटलमा उनको विजय होटल पर्छ। त्यो उनकै लगनशील, परिश्रमको फल हो।

यति भनिरहँदा श्रीमान्को हात थिएन भन्न खोजिएको भने होइन। तैपनि, होटलको सम्पूर्ण जिम्मेवारी याङ्कीमै निर्भर थियो। जुुन अर्डर आएको परिकार तयार गर्नेदेखि हिसाब किताब गर्ने सबै काम पर्थे। यी सबै कुराका बाहिर व्यवस्थापन भने श्रीमान् विजयले नै गर्थे। होटलमा अन्य सहयोगी पनि थिए।

उनले सानै उमेरबाट दुःख गरेर कमाएको सम्पत्ति पनि राम्रोसँग उपभोग गर्न पाइनन्। ४४ वर्षकै उमेरमा उनको निधनले सिंगो जिल्लाबासीलाई शोकमा डुबाएको छ भने साथीसंगी र आफन्तलाई दिन पनि रातजस्तो भएको भान हुन थालेको छ।

एक दिनअगाडि उनको मृत्यु भएको भए पनि बुधवार मात्र बौद्धधर्म परम्पराअनुुसार अन्त्येष्टि गरिएको छ। यसअघि उनको लासलाई मर्नुअघिको उनको चाहनाअनुुसार परिवारका सदस्यले याल्वाङ गुम्बाका लामाको लगेर पूजा गरिएको थियो।

त्यसपछि हेलिकोप्टरमा लास ल्याएर अन्त्येष्टि गरिएको हो। उनको अन्त्येष्टिमा भाग लिन कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाही अघिल्लै दिन हुम्ला आइपुुगेका थिए।

करिब डेढ घण्टामा पैदल शव यात्रामा मुख्यमन्त्री शाही सहभागी पनि भए। उनले लामाको पार्थिक शरीरमा कांग्रेसको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए। शव यात्रामा धेरै मानिस सहभागी थिए।

भदौ २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्